हेटौँडा बर्दघाट २२० केभी बिद्युत प्रसारण लाइन परियोजनाबाट प्रभावित पुर्बी नवलपरासी बिनयीत्रिबेणी २ सुनटाँडीका बासिन्दाहरुले भौतिक , सामाजिक र साँस्कृतिक प्रभावलाई ख्याल नगरी स्थगित भएको निर्माण कार्य छलकपटपुर्ण तरिकाले सुचारु गरेको आरोप लगाएका छन् ।
उनीहरुले बिद्युत प्राधिकरणले जवरजस्ती बल प्रयोग गरी निर्माण कार्य सुचारु गरेको तर सम्बन्धित निकायहरुले आफुहरुको कुरा सुनुवाइ नगरेको आरोप लगाएका हुन् । बिहीबार सदरमुकाम कावासोतीमा पत्रकार सम्मेलन गरी आफ्ना समस्या नेपाल बिद्युत प्राधिकरण , उर्जा मन्त्रालय आदि सँघ सँस्थामा राखे पनि कसैलै सुनुवाइ नगरेको उनीहरुको आरोप छ ।
उनीहरुले सम्मानित सर्बोच्च अदालतले टावर निर्माण गर्ने कार्य स्थगित गर्न दिएको आदेश समेतलाई लत्याएर बल प्रयोग गरी निर्माण कार्य गरेको बताएका हुन् ।
प्राधिकरणले आफुहरुको स्वास्थ्यमाथि खेलबाड गरेको , धार्मिक तथा सामाजिक आस्थालाई समेत ख्याल नगरेको उनीहरुको आरोप छ । बिद्युत प्राधिकरणले साविकको रुट समेत परिवर्तन गरी निर्माण कार्य गरेको उनीहरुको भनाइ छ ।
यसरी रुट परिवर्तन गरी निर्माण कार्य गर्दा आफुहरुको बस्तीमा भौतिक, सामाजिक तथा साँस्कृतिक असर परेको उनीहरुको जिकिर छ । निर्माण कार्यको बिरोध गर्दा महिला तथा ज्येष्ठ नागरिकहरुमाथि समेत भौतिक आक्रमण गर्ने , अश्रुग्याँस प्रहार गरी घाइते बनाउने जस्ता निकृष्ट कार्य पनि गरिएको उनीहरुको गुनासो छ ।
घना बस्ती भएको स्थानबाट बिद्युत लाइन बिस्तार गर्दा आफुहरुको कुल मन्दिर , गुम्बा, चौतारा तथा मन्दिरहरुलाइ प्रत्यक्ष असर परेकोले साविकको रुटबाट लाइन बिस्तार गर्न अथवा बैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणसँग उनीहरुको माग छ ।