प्रगतिनगर साना किसान कृषि सहकारी संस्था देवचुली १३ को आयोजनामा व्यवसायिक तरकारी उत्पादन प्रविधि तालिम आज शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रुमादेवी काफ्लेको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारी र कृषि प्राविधिक सरस्वती ढकालद्वय प्रशिक्षक रहेका थिए।
संस्थाको आयोजना तथा फलफुल तथा तरकारी मूल्य श्रीङ्खला बिकास आयोजना काठमाण्डौको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा जम्मा ३५ जना प्रशिक्षार्थी सहभागी रहेका थिए। शनिबार सम्पन्न तालिममा बिशेष गरी एक बिगाहा क्षेत्रफलमा आलु , ७ कठ्ठामा टमाटर , ६ कठ्ठामा काँक्रो र ८ कठ्ठामा भेण्डी खेती कसरि गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको संस्थाका व्यवस्थापक बिमला गैरेले ह्याप्पी टाइम्सलाई बताएकी छिन्।
गैरेका अनुसार उक्त कार्यक्रमको बीच १ लाख मूल्य बराबरको बिउबिजन , क्यारेट र १० थान (४० हजार मूल्य पर्ने ) बिधुतिय स्प्रे ट्यांकी अनुदानमा प्रदान गरिएको छ। यस्तै वडा नं १२ निवासी समुह नं १९ कि बसुन्धरा पाण्डेलाई संस्थाले ७५ % अनुदानमा १ लाख मूल्य बराबरको १२ मिटर लम्बाई र ५ मिटर चौडाई आकारको टनल निर्माणको लागी अनुदान दिने संस्थाकी अध्यक्ष रुमादेवी काफ्लेले ह्याप्पी टाइम्सलाई बताएकी छिन्।
काफ्लेले नगरपालिकालाई कृषिमाया बनाउंदै कृषकलाई प्रविधीमैत्री बनाउन सकियो भने देवचुली नगरपालिकाले कृषिको क्षेत्रमा ठुलो फड्को मार्न सक्ने बताएकी थिइन्। यस्तै संस्थाले फाल्गुन महिनामा उत्पादित तरकारी बालीको बजारीकरण , उत्पादन उपरान्त क्षति न्यूनीकरण , तरकारी बालीमा रोग किरा व्यवस्थापन तालिम , प्राङ्गारिक मल तथा जैविक बिषादी निर्माण सम्बन्धि ४ वटा तालिम सम्पन्न गर्ने लक्ष्य राखेको बताइन्।
विसं २०७२ असार २२ गते स्थापित संस्थामा हाल २ सय ३ समूह , १ हजार २ सय ४० सदस्य , ४ जना कर्मचारी संगै ११ जनाको संचालक समिति रहेका छन्। साथै अहिले संस्थाको कार्यालय परिसरमा आफ्ना सदस्यहरुलाई सहजताको लागी सुपथ कृषि पसल समेत संचालनमा रहेको छ।