देवचुली
देवचुली नगरपालिका वडा नं १४ मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ नवलपुरको आयोजना, वडा नं १४ को आर्थिक सहयोग तथा सुयोग आयुर्वेद औषधालय, छत्तीसघरको सहकार्यमा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमा एक सय ६९ जनाले स्वास्थ्य परिक्षण गराई लाभ लिएका छन् । स्वास्थ्य परिक्षण गराउनेहरुमा एक सय जना महिला र ६९ जना पुरुष रहेका छन् ।
शिविरमा वातब्याधीका ४५, अम्लपित्तका ४८, स्त्री प्रसुतीका १२, नेत्र रोगका ३० जना बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए। यसैगरी बालरोगका ९ अर्सका ७ र चर्मरोगका १३ जना विरामीले स्वास्थ्य परिक्षण गराई परामर्श र नि:शुल्क आयुर्वेदिक औषधि वितरण गरिएको थियो।
नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविरको अध्यक्षता देवचुली नगरपालिका वडा नं १४ का हेमराज दवाडीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा आयुर्वेद चिकित्सक नितेश कान्दु रहनुभएको थियो।
कार्यक्रममा नेपाल आयुर्वेद औषधि ब्यवसायी संघ नवलपुरका अध्यक्ष गणेश आचार्य, वडा सदस्यहरु चन्द्रकला भुसाल, ज्ञानु सुनार, ओमबहादुर थापा, मनोजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी लोकनाथ अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन नेपाल आयुर्वेद औषधि ब्यवसायी संघका उपाध्यक्ष तथा सुयोग आयुर्बेद औषधालयका सञ्चालक पार्वती कंडेल अर्यालले गर्नुभएको थियो।