नयाँ दिल्ली– बलिउड सुपरस्टार सलमान खान ५३ वर्षका भए। लामो समयदेखि मिडिया र फ्यानहरूले सलमानलाई एउटै प्रश्न गर्छन्, ‘भाइजान, बिहे कहिले गर्नुहुन्छ?’ धेरैमा कुतूहल छ, ‘ग्यालेक्सी अपार्टमेन्ट सलमानको बिहेमा कहिले चम्किएला।’ राष्ट्रिय विषयभन्दा कम छैन उनको बिहेको चर्चा।
टाइम्स अफ इन्डियाको एक रिपोर्टपछि चर्चा चलिरहेको छ, सलमान सरोगेसीमार्फत बाबु बन्ने तयारीमा छन्। उनी बाबु बन्ने खबरले उनका फ्यानहरू अचम्मित भएका छन्। सरोगेसीको विषयले सलमानको विवाहमाथि नै प्रश्न उब्जाएको छ। यदि, सलमानको तयारी साँचो मान्ने हो भने सरोगेसीमार्फत बाबु बन्न चाहने सलमान के अब बिहे गर्ने छैनन्?
बच्चा जन्माएपछि उमेरको पहाड उक्लिसकेका उनलाई सायद बिहेको आवश्यकता नहुन सक्छ। उसो त सलमानले एउटा बयानबाट प्रमाणित गरिसकेका छन्, ‘कलाकार बिहेबाट टाढा भाग्छन्।’
सन्तानमा लगाव, तर किन बिहेसँग डराउँछन् सलमान?
सलमान बच्चालाई बहुत प्रेम गर्छन्। उनी आफ्नो खानदानको बच्चासँग गहिरो लगाव राख्छन्। तर, एक अन्तरवार्तामा उनले भनेका छन् कि, ‘म असल सन्तान हुँ र असल बाबु बन्न सक्छु। तर, असल पति बन्न सक्दिनँ।’
सायद, पछिल्लो समय अभिनेताहरूको वैवाहिक सम्बन्ध बिग्रिएर डिभोर्स भइरहेकाले पनि सलमान बिहेबाट तर्किएका हुन सक्छन्।
भाइ अरबाज खानको मलाइकासँग १९ वर्षपछि डिभोर्स हुनुले सलमान आफ्नो लागि ठूलो सिकाइ भएको बताउँछन्।
एक शोमा उनले भनेका छन्, ‘बिहे गरेपछि यस्तो अवस्था आउँछ कि बरु बिहे नगर्दा नै खुसी छु म।’
अदालतको केसका कारण बिहेको लागि रोकिएका हुन् सलमान?
उसो त सलमानको धेरै अभिनेत्रीसँग अफेयर चल्यो। तर, कुनै पनि टिक्न सकेन। अधुरो सम्बन्धका कारण सलमानको बिहेप्रति वितृष्णा जाग्यो।
कतिपयले यसो पनि भन्छन्, ‘सलमान खान आफैंमाथिको विचाराधीन केसका कारण बिहे गर्न चाहँदैनन्।’
एक अन्तरवार्ताको क्रममा उनले बिहेको प्रसंगमा मजाकको भावमा भनेका थिए, ‘जब ममाथिको सबै केस सुल्टिन्छ तब म बिहेको बारेमा सोच्छु।’
पार्टनरलाई समय दिन नसकिनेमा डराउँछन् सलमान
सलमान कतिपल्ट बिहेको नजिक पुगेका थिए। तर, उनले चाहेजति समय दिन सक्दैन थिए। सलमानलाई लाग्छ कि आफ्नो पार्टनरलाई समय दिन नसक्नु उसको साथ गलत गर्नु हो।
यद्यपि, आजभोलि बलिउडमा एकल आमाबाबुको कन्सेप्ट प्रचलनमा छ। तुषार कपूर, एकता कपूर, करण जौहर लगायत सरोगेसीमार्फत आमाबाबु बने।
परिवारको सहयोग भएकै कारण यी सेलेब्रिटीलाई सहज भएको छ।
सलमान वा उनको परिवारबाट भने अहिलेसम्म सरोगेसीको खबरबारे कुनै बयान आएको छैन।