चितवन,
जिल्लाको बिकट क्षेत्र कालिका नगरपालिका वडा नम्बर ११ वाङ्थलास्थित दक्षिणकाली आधारभूत विद्यालय (१-५)का कुल १०४ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाले सरस्वती पूजाको अवसर पारेर शैक्षिक सामग्री उपलब्ध गराएको हो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष किरणकुमार खनालको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले महासंघले चितवनको पहाडी भेकको चेपाङ समुदायलाई लक्षित गरेर निरन्तर रूपमा सहयोग गरिरहेको बताए ।
`यहाँका विद्यार्थी भाइबहिनीलाई लेख्ने पढ्ने काममा समस्या हुन नदिन हामी सदैव सचेत बनिरहेका छौँ´, खनालले भने - `यस समुदायमा कुनै पनि बालबालिकालाई शिक्षा आर्जन गर्ने क्रममा समस्या परेमा त्यसको जिम्मा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले लिनेछ ।´ महासंघ चितवन शाखाका अध्यक्ष उद्योगविक्रम बानियाँले शैक्षिक सामग्री वितरण कार्यक्रम महासंघको नियमित कार्यक्रम अन्तर्गत भएको बताए । सरस्वती पूजाका दिन हरेक वर्ष जिल्लाको बिकट ठाउँमा पुगेर वास्तविक सहयोगको खाँचो रहेका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको अध्यक्ष बानियाँले जानकारी दिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक सुवास रेग्मीले वाङ्थलाका विद्यार्थीको अवस्था दयनीय देखेर यसपटक यहाँ आएर सहयोग गरिएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइतराम प्रजा, प्रधानाध्यापक वासुदेव घिमिरे, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका निवर्तमान अध्यक्ष राजेन्द्र तिवारी, महासंघका बागमती प्रदेश सदस्य लेखराम सापकोटा र विनोद ढकाल, सल्लाहकार प्रमेश आचार्य, उपाध्यक्ष वीरबहादुर न्यौपाने, काजीराज चौधरी, सचिव महेन्द्र कोइराला, कोषाध्यक्ष गुरुप्रसाद अधिकारी, लेखासमिति संयोजक सुजन पाण्डेसहित सदस्यहरू केशव देवकोटा, राममणि अधिकारी, रविन पौडेल, नारायण रेग्मी लगायतको उपस्तिथि थियो ।
वाङ्थला चेपाङ समुदायको बसोबास रहेको क्षेत्र हो । रत्ननगरको टाँडी बजारबाट लगभग २५ किलोमीटर उत्तरपूर्वमा रहेको यो क्षेत्रमा आदिवासी चेपाङ समुदायको पातलो बसोबास छ । चेपाङ समुदायका बालबालिका स्कुल पुग्छन्, तर उनीहरूको हातमा कापी किताब देख्न पाइन्न । विद्यालयमा भर्ना हुँदा पाएका किताब कापी केही दिनमै च्यातचुत भएर सकिन्छन् ।
आफ्नो विद्यालयको अवस्था सुनाउँदै विद्यालयका प्रधानाध्यापक वासुदेव घिमिरेले विद्यालयमा आएर कापी, कलम, झोलासहित खेलकुदका सामग्री प्रदान गरेकोमा महासंघ परिवारलाई धन्यवाद दिए । शैक्षिक सामग्री लिन पालो कुरेर बसेका बालबालिकालाई विभिन्न प्रश्नहरू सोधेर सहि जवाफ दिनेलाई बालपत्रिका `मुना´सहित बाल साहित्यका अन्य पुस्तकहरू पनि प्रदान गरिएको थियो ।