हिरालाल आचार्य ‘डायमण्ड’,नवलपुर
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोटमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर जानका लागि केबलकार निर्माण गर्ने कार्य भइरहेको छ ।
केबलकार निर्माण गरिरहेको मौलाकालिका केबलकार प्रालिका सञ्चालक एवम् उद्योग वाणिज्य संघ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आज निर्माणस्थलको आवलोकन गरेका छन् ।
अवलोकनपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै ढकालले अनुमित लिनुपर्ने सबै काम सकेर रुख कटान पनि सकिएको बताए । उनले अबको एक हप्तामा बेस (जग) निर्माणको काम सुरु हुने बताए । बेस बनाउनका लागि हाल नाप्ने काम भइरहेको छ । आइएमई गु्रपका अध्यक्ष समेत रहेका ढकालले एक वर्षमा केबलकार निर्माण सम्पन्न हुने बताए । ‘आगामी पुषसम्ममा केबलकार चढेर मौलाकालिका आउन सकिन्छ’ उनले भने ।
होटल निर्माण सम्पन्न हुन भने दुई वर्ष जति लाग्न सक्ने ढकालको भनाइ छ । उनले केबलकारको टप स्टेशनमा स्तरीय होटल बन्ने बताए । मौलाकालिकामा रहेको हेलिप्याडमा टप स्टेशन बनाइँदै छ । उनले टप स्टेशनमा ४ तले भवन बनाएर त्यसको माथिल्लो तलामा हेलिप्याड बनाइने बताए । होटल, रेष्टुरेण्ट र स्वमीङ पुल टप स्टेशनमा बन्ने भवनमै हुनेछन् । ५० देखि ६० बेडको ४ स्टार लेभलको होटल बन्ने उनले बताए ।
केबलकार निर्माणमा डेढ अर्बको लागत लाग्ने अनुमान गरिएको बताउँदै ढकालले जसमा ४९ प्रतिशत स्थानीयको र ५१ प्रतिशत आफ्नो कम्पनीको हुने बताए ।
१.२ किलोमिटरको रहने केबलकारमा ६ वटा पिल्लर र १२ वटा डब्बा (गोन्डोला) राखिने छ । ५÷७ मिनटको केबल कार यात्रामा मौलाकालिका पुग्न सकिने ढकाल बताउँछन् । केबलकारले मन्दिर आउने चाहना हुँदाहुँदै पनि वृद्ध भएकै कारण आउन नसकेका बाआमाहरुलाई सबैभन्दा बढी लाभ पुग्ने ढकालले बताए ।
यस्तै केबलकार निर्माणले यो क्षेत्रकै पर्यटकीय विकास हुने विश्वास लिइएको ढकालले बताए । चन्द्रागिरीको उदाहरण दिँदै उनले भने, ‘चन्द्रागिरीमा केबलकार लगेपछि त्यो क्षेत्रको धेरै विकास भयो । होटल, हामेस्टेहरु बने । जग्गाको मूल्य बढ्यो । स्थानीयको जीवनस्तर नै उकासिएको छ ।’ केबलकार निर्माणमा गैंडाकोटका स्थानीयहरुको पूर्ण साथ र सहयोग पाएको उनले बताए ।
केबलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने करिब एक हजार ३८ वटा रुख काटिएको छ । केबलकारले ओगट्ने क्षेत्रको जग्गा गैंडाकोटमै अन्यत्र खरिद गरेर सरकारलाई प्रदान गरिएको बताउँदै ढकालले त्यहाँ वृक्षारोपण पनि गरिदिने बताए ।गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले केबलकार निर्माण भएपछि गैंडाकोट पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताए । उनले अब मौलाकालिका पुग्न ३÷४ वटा बाटा बन्ने बताउँदै यो खुसीको कुरा भएको बताए । मौलाकालिका मन्दिरमा हाल करिब आधा घण्टाको उकालो चढेपछि पुग्न सकिन्छ भने सडकमार्ग भएर आधा घण्टाको यात्रामा साना सवारी साधनमा पुग्न सकिन्छ ।मौलाकालिका मन्दिरमा नयाँ वर्ष, बढा दशैं र चैते दशैैंका बेला धेरै भिड लाग्ने गर्छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुराज रिमालले नयाँ वर्षको दिनदेखि बैशाख महिनामा करिब डेढ लाख भक्तजन मन्दिरमा आउने गरेको बताए । यस्तै अन्य बारभन्दा शनिबारका दिन धेरै मानिसहरु मौलाकालिका आउने गरेको उनले बताए ।