देवचुली ,
देवचुली १७ फारममा अवस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द्रदेव तिवारीको अध्यक्षता रहेको कार्यक्रममा देवचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रममा संस्थाका सचिव राजन पौडेलको प्रगति प्रतिवेदन , कोषाध्यक्ष ध्रुव लामिछानेको कोषाध्यक्ष प्रतिवेदन संगै लेखा संयोजक रामचन्द्र ठकुरीको लेखा प्रतिवेदन रहेको थियो।
कार्यक्रममा रविलाल सापकोटा , शिसवार मध्यवर्तीका अध्यक्ष नेत्र बहादुर पाण्डे , संस्थाका संस्थापक अध्यक्ष भिमलाल सापकोटा , देवचुली माविका प्रधानाध्यापक नारायण भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। सोहि क्रममा संस्थाका अध्यक्ष तिवारीले यस पटक संस्थाले बिगतको भन्दा कम मुनाफा गरेको बताएका छन्। तिवारीले कोरोना कहरको समयमा यस संथाले आफ्ना शेयर सदस्यहरुलाई ब्याज रकममा ५ देखि १० % सम्म छुट तथा ऋण किस्ता भुक्तानीमा ६ महिना सम्मको समय थप गरेको बताएका छन्। संस्थाले यस वर्ष १३ लाख ५ सय ७२ रुपैंया ७२ पैसा मुनाफा गरेको छ भने संस्थामा हाल ४ हजार १ सय ४६ जना शेयर सदस्य रहेका छन्।
यस्तै आज सम्पन्न कार्यक्रममा संस्थाले विभिन्न समूह तथा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ। संस्थाले लघुवित्त समूह बचत तर्फ मिलिजुली बचत महिला समुह , लघुवित्त समूह ऋण तर्फ जनज्योति महिला बचत समुहलाई सम्मान गरेको छ।
यता छात्रवृति तर्फ स्मृति परियार , अमृत न्यौपाने र विदुर अधिकारी संगै दैनिक बचत तर्फ भुवनेश्वर अधिकारी , दिपक गुरुङ , सुवाष गहतराज र पूर्णमाया महतो लगायतलाई सम्मान गरेको हो। यस्तै ४ जना असल ऋणी ,४ जना नियमित बचतकर्ता ,४ जना बालबचत कर्ता संगै ५ जना ज्येष्ठ नागरिकहरुलाई समेत सम्मान गरेको आयोजकले जनाएको छ।
उपाध्यक्ष गिरिधार सापकोटाको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर श्रेष्ठले जनचेतना साकोसले सामाजिक क्षेत्रमा पुर्याएको योगदान को बारेमा थाहा पाउँदा एकदम खुसि लागेकोले आगामी दिनमा पनि सामाजिक संगै आर्थिक क्षेत्रमा निरन्तर अगाडी बढ्दै सबैको मन मुटुमा बस्न सफल होस् भन्दै शुभकामना दिएका थिए।