देवचुली,
वन उद्यमबाट महिलाको आर्थिक सशक्तिकरणका लागि दलदलेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । “शसक्त हिमवन्ती, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र ग्रामीण महिलाको समुन्नती” भन्ने उद्धेश्य सहित सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको हो । फरेष्टएक्सन, हिमवन्ती, पारिवारिक निजी वन संघ नेपाल,नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र देवचुली नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता हिमवन्ती नवलपुरका सदस्य दुर्गा विष्ट रहनुभएको थियो भने देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी रहनुभएको थियो ।
कार्यक्रमको विषयमा जानकारी गराउँदै कार्यमूलक अनुसन्धान परियोजना प्रमुख सिर्जना बरालले वन र प्रकृतिमा आधारित उद्यममार्फत महिलाको आर्थिक सशक्तिकरण गरि जलवायु परिवर्तन र कोभिड–१९ जस्ता महामारीको प्रभावबाट उद्यमशील बनाउनुपर्ने बताउनुभएको थियो । उहाँले यो परियोजनाले नवलपरासी पूर्वमा देवचुली र गैंडाकोट र सिन्धुपाल्चोकका दुई पालिकामा करिब ५० लाख बजेटमा ३० महिना कार्यक्रम गर्ने बताउनुभयो ।
यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका तिवारीले जुनसुकै वनमा काम गर्ने व्यक्ति विपन्न समुदाय रहेकाले उनीहरुको आर्थिकमा केही सहयोग हुने कार्य गर्नुपर्ने बताउँदै महिला सशक्तिकरण गर्न यो परियोजनाले सहयोग पुर्याउने बताउनुभएको थियो । उहाँले महिलाहरुलाई अब चुलोचौकामा मात्र सिमित नराखेरसमाजमा हुने हरेक क्रियाकलापमा समावेश गराउनुपर्ने बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा डिभिजन वन अधिकृत मोहन काफ्लेले वनले महिलाहरुको नेतृत्व विकासमा ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो । अन्य क्षेत्रमा भन्दा वनमा महिलाको सहभागिता बढि रहेकाले पनि महिला सशिक्तकरणका लागि धेरै कार्य गर्नुपर्ने बताउनुभयो ।
गाउँ–गाउँमा महिलाहरु माथि धेरै समस्या भएकाले त्यहाँ पुग्न आवश्यकता रहेको सामुदायिक वन उपभोक्ता महासंघ फेकोफेनका जिल्ला अध्यक्ष ठाकुरा पाण्डेले जानकारी गराउनुभएको छ । उहाँले महिलाको दैनिक कार्यबोज कम गर्न आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा अनुसन्धान कर्ता कञ्चन लामाले महिला सशक्तिकरणमा सरोकारवालाको पहिचानका विषयमा उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, विभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, महिला सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण राम माझीले गर्नुभएको थियो ।