काठमाडौं । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट सुरु हुन अब २० दिनमात्र बाँकी छ । इङ्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकपका लागि सहभागी राष्ट्रले तयारी तीव्र पारेका छन् । तयारीसँगै सहभागी राष्ट्रका खेलाडीबारे विभिन्न चर्चा परिचर्चा भइरहेका बेला हामीले विश्वकपमा बनेका केही रेकर्डबारे चर्चा गरेका छौं ।
अष्ट्रेलियाले धेरैपटक उपाधि जितेको रेकर्डसहित सफल रन चेज टोली, सर्वाधिक स्कोर बनाउने राष्ट्रलगायत व्यक्तिगत रुपमा रेकर्ड राखेका सचिन तेन्दुलकरसँगै सर्वाधिक विकेट लिन सफल ग्लेन म्याकग्रेथको रेकर्डबारे चर्चा गरिएको छ ।
एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाको यात्रा सफल छ । अष्ट्रेलियाले अहिलेसम्म सर्वाधिक पाँचपटक विश्वकपको उपाधि जितेको छ । स्टार खेलाडी सम्मिलित अष्ट्रेलिया यो पटक पनि विश्वकपको मुख्य दाबेदार हो । ११ संस्करणको सहभागितासम्म अष्ट्रेलिया दुईपटक मात्र उपविजेता बनेको छ ।
सन् १९७५मा आयोजना भएको पहिलो संस्करण र १९९६ मा भएको छैठौं संस्करणको विश्वकपमा उपविजेता बनेको अष्ट्रेलियाले पहिलो पटक १९८७ मा विश्वकपको उपाधि जितेको थियो । त्यसपछि १९९९, २००३, २००७ मा लगातार उपाधिमा ह्याट्रिक गरेको अष्ट्रेलिया २०१५ को पनि विजेता हो ।
२०११ मा भारत, श्रीलंका र बंगलादेशमा संयुक्त रुपमा आयोजना गरिएको विश्वकपमा एक खेल निकै रोमान्चक बन्यो । जसको कारण थियो, सर्वाधिक रन त्यसैमा पनि जित । खेल थियो आयरल्याण्ड र इङ्ल्याण्डबीच ।
३ सय २८ रनको लक्ष्य आयरल्याण्डका निम्ति सहज बन्यो । त्यसका नायक थिए केभिन ब्रोयन । उनले आफनो करिअरमा सबैभन्दा छिटो शतक बनाएपछि आयरल्याण्ड ५ विकेट गुमाउँदै १ सय ११ रनबाट फर्किन सफल भएको थियो ।
केभिनले ६३ बलमा १ सय १३ रन बनाएका थिए । विश्वकपको इतिहासमा यहि खेल नै सर्वाधिक रन चेज गर्न सफल भएको खेल हो ।
अष्ट्रेलिया (सर्वाधिक स्कोर)
२०१५ मा न्युजिल्याण्ड र अष्ट्रेलियामा आयोजना भएको विश्वकप क्रिकेटमा अष्ट्रेलियाले सर्वाधिक रन बनाएको थियो । जुन विश्वकपको इतिहासमा सर्वाधिक रन हो ।
अफगानस्तानविरुद्ध म्याक्सवेलले ४५ बलमा ८८ रन बनाएपछि घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४ सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा अफगानिस्तान ३७.३ ओभरमा १४२ रनमा अलआउट भएपछि अष्ट्रेलिया अन्य रेकर्ड तोड्दै २ सय ७५ रनले विजयी भएको थियो । त्यहि नै विश्वकपमा धेरै रनले विजय भएको रेकर्ड हो ।
सचिन तेल्दुलकर (सर्वाधिक रन )
विश्वकपको इतिहासमा व्यक्तिगत रेकर्ड बनाउनेमा भारतका सचिन तेन्दुलकर अग्रपंक्तिमा छन् । २ हजार २ सय ७८ रन बनाउँदै सचिन विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शिर्षस्थानमा छन् । भारतमा क्रिकेटको भगवानका उपनामले परिचित सचिनको रेकर्ड तोड्न खेलाडीलाई चुनौती छ ।
२००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा नामिवियाबिरुद्ध सर्वाधिक १ सय ५२ बनाएका उनले २०११ मा भारतमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
१९८९ मा पाकिस्तानविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका सचिनले २०१२ मा पाकिस्तानविरुद्ध एकदिवसीय क्रिकेटपछि सन्यास लिएका थिए । भारतले उनीपछि रेकर्डका लागि रोहित शर्मा, शिखर धवन, विराट कोहलीबाट अपेक्षा राखेको छ ।
क्रिस गेल (छिटो दोहोरो शतक )
विश्वकप क्रिकेटमा वेष्ट इन्डिजका क्रिस गेलको नाममा सर्वाधिक छिटो डबल शतक बनाउने रेकर्ड छ । एकदिवसीय करिअरको अन्त्यतिर रहेका गेलले २०१५ मा १ सय ३८ बलमा डबल शतक बनाएका थिए ।
जिम्वावेविरुद्ध मैदान उत्रिएका गेलले १ सय ४७ बलमा १७ छक्का प्रहार गर्दै छिटो डबल शतक बनाउने खेलाडीमा आफ्नो नाम दर्ता गरेका थिए । उक्त खेलमा वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३ सय ७२ र बनाएको थियो । उक्त खेलमा बर्षाभएपछि वेष्ट इन्डिज डिएलमेथडमा ७३ रनले विजयी भएको थियो।
सर्वाधिक छक्का
विश्वकपको इतिहासमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड वेष्ट इन्डिजका क्रिस गेल र दक्षिण अफ्रिकाका एबि डि भिलियर्सको नाममा छ ।
दुवैले समान ३७ छक्का प्रहार गरेका छन् । गेलले २०१५ मा जिम्वावेबिरुद्धको खेलमा सर्वाधिक २६ छक्का प्रहार गरेका थिए । भिलियर्सले सन्यास लिइसकेकाले गेललाई सर्वाधिक छक्काको रेकर्ड आफनो नाममा लेखाउने अवसर छ ।
ग्लेन म्याकग्रेथ (सर्वाधिक विकेट )
अष्ट्रेलियाका ग्लेन म्याकग्रेथको नाममा विश्वकपको इतिहासमा सर्वाधिक विकेट लिने खेलाडीको रेकर्ड छ । तिव्र गतिका बलर ग्लेनले १९९६ मा डेब्यु गरेयता २००७ सम्मको यात्रामा ७१ विकेट लिएका छन् । ३९ खेलमा उनले ७१ विकेट लिएका हुन् ।
करिअरलाई छिटो अन्त्य गरेका उनको चर्चा २००७ को विश्वकपमा भएको थियो । वेष्ट इन्डिजमा भएको विश्वकपमा उनले सर्वाधिक २६ विकेट लिएका थिए ।
लासिथा मालिङ्गा (लगातार विकेट रेकर्ड)
२००७ मा वेष्ट इन्डिजमा आयोजना भएको विश्वकप क्रिकेटमा श्रीलंकाका लासिथा मालिङ्गाले लगातार विकेट लिने खेलाडीको रेकर्ड आफनो नाममा दर्ता गरेका छन् । दक्षिण अफ्रिकाकाविरुद्ध ४ बलमा ४ विकेट लिँदै मालिङ्गाले रेकर्ड बनाएका हुन् ।
दक्षिण अफ्रिकालाई जितका लागि ४ रन आवश्यक रहेका बेला मालिङ्गाले लगातार विकेट लिएका थिए । यद्यपि दक्षिण अफ्रिकाका १ विकेटले विजयी भएको थियो । उक्त खेलमा ब्याटसम्यान नर्भस भएपछि मालिङ्गाले एकपछि अर्को विकेट लिएका थिए ।