देवचुली,
ठूला नमूना विद्यालयका रुपमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । स्थापनाका ५० औँ बर्ष पूरा गरेको देवचुली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समुद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलले गर्नुभएको हो । मुख्यमन्त्री पोख्रेलले झण्डोत्तलन गरि समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोख्रेलले विद्यालयको शैक्षिक विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको थियो ।
स्वर्ण महोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य प्रसाद न्यौपानेको अध्यक्षता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्वर्ण महोत्सव समुद्घाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, पिटि प्रस्तुत गरेका थिए भने कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । यसैगरि कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सँगै दोहोरी समेत प्रस्तुती गरिएको थियो ।
स्वर्ण महोत्सवमा विद्यालयका अक्षयकोष दाताबाट जम्मा भएको रकमको ब्याजबापतको ८४ हजार रुपैया विद्यालयका ४२ विद्यार्थीहरुलाई जनही २ हजारका दरले हस्तान्तरण गरिएको थियो । यसैगरि विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमराज सापकोटाले ३ लाख रुपैँयाको चेक विद्यालयको अक्षयकोषका लागि हस्तान्तरण गर्नुभएको थियो ।स्वर्ण महोत्सवको कार्यक्रममा विभिन्न शैक्षिक एव्म राजनितिक दलका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई नवलपुर प्रमुख कृष्णचन्द्र पोख्रेल, संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, कृष्ण पौडेल, गण्डकी प्रदेशका सभाषद विष्णु लामिछाने, ओमकला गौतम, नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, विभिन्न वडाध्यक्षहरु, अन्य विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एव्म प्रधानाध्यापकहरु, टोल सुधार समितिका पदाधिकारी, आमा समूह, युवा क्लब लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको ५० बर्षे सफल यात्राको शुभकामना दिएका थिए । कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सह–प्रधानाध्यपक विश्वराज पौडेलले गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक शिवहरि अधिकारीले गर्नुभएको थियो भने सांगितिक कार्यक्रमको सहजीकरण सत्यराज अधिकारीले गर्नुभएको थियो ।
पौष ८ गते देखि सुरु गरिएको स्वर्ण महोत्सवको समापन आगामी बैशाख १ गते समापन गरिने स्वर्ण महोत्सव मूल आयोजक समितिले जनाएको छ ।