सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनीमाथि तेजाब आक्रमण भएको थियो । आक्रमणमा परेपछि उनले दुईपटक गरी करिब सात महिना अस्पतालमा उपचार गराएकी थिइन् ।
फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्माता तथा अभिनेतासमेत रहनुभएका रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताउनु भयाे । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी दिनुभयाे ।
अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने खुलाउनु भयाे । उहाँले ‘बुद्ध बर्न इन नेपाल’लाई स्थानीय तहसँगको समन्वयमा प्रत्येक विद्यालयमा प्रदर्शन गर्न लागेको बताउनु भयाे ।
निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘बुद्ध बर्न इन नेपाल’मा रमितसँगै अशिष्मा नकर्मी, नीर शाहलगायतका कलाकारको अभिनय थियो । फिल्मले विश्वमा बुद्धको जन्मस्थलका विषयमा विवाद भइरहँदा बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने देखाउन संघर्षरत एक युवकको कथालाई देखाएको थियो ।
पोखरा न्युजबाट