देवचुली,
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट “ठूला नमूना विद्यालय”का रुपमा छनोट हुन सफल देवचुली माध्यमिक विद्यालयले आगामी पौष ८ गतेबाट स्वर्ण महोत्सव गर्ने भएको छ । प्राविधिक धार तर्फ सिभिल इन्जिनियरिङ्ग विषयमा संचालन गर्ने पहिलो विद्यालय देवचुली माध्यमिक विद्यालयले स्थापनाको ५० बर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवको आयोजना गर्न लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पौष ८ गते बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलले स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सव पौष ८ गते देखि सुरु भई आगामी बैशाख १ गते समापन गरिने विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले बताउनुभएको थियो । पौष १० गतेदेखि विद्यालयका विभिन्न तहका विद्यार्थीहरु र अभिभावकलाई लक्षित गरि विभिन्न खेलकुद कार्यक्रम, शैक्षिक कार्यक्रमहरु, जेष्ठ नागरिक सम्मान, पूर्व शिक्षक र पूर्व विद्यार्थी पूर्नमिलन, स्टल सहितको विज्ञान प्रदर्शनी, साहित्यिक, साँस्कृतिक एवं प्रतिस्पर्धात्मक कार्यक्रम, स्वास्थ्य शिविर, मेडिटेसन तथा आत्मविश्वास अभिवृद्धि र वृक्षारोपण, रक्तदान, सरसफाई लगायतका कार्यक्रमहरु गरिने भण्डारीले बताउनुभयो । देवचुली मा.वि विग मोडल स्कुल अन्तर्गतको गण्डकी प्रदेशमा छनोट भएकाले पनि बैशाखसम्ममा कार्यक्रमलाई निरन्तरता दिइएको भण्डारीले बताउनुभएको छ ।
स्वर्ण महोत्सवलाई अगाडि बढाउँदै गर्दा विद्यालयले आफ्नै ३ विगाहा जग्गालाई क्रिकेट मैदान बनाइरहेको छ । यसैगरि चैत ६ गते देखि स्वर्ण स्तम्भ, स्मारिका प्रकाशन, शोभा यात्रा लगायतका कार्यक्रम गरि स्वर्ण महोत्सव समापन गर्ने भण्डारीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले वि.सं २०२८ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीहरुलाई गुण्स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले कोभिडका कारण लामो समयसम्म विद्यार्थीको पढाई बिग्रेकाले हरेक शनिबार कार्यक्रम गर्ने जानकारी दिनुभयो । स्वर्ण महोत्सवलाई भव्य र सव्य रुपमा सफल पार्न सम्पूर्णलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका कर्मचारी, विद्यार्थी, शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।