देवचुली,
पूर्वी नवलपरासीको देवचुलीमा संचालन भइरहेको प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सेन्ट्रल कलेज २८ विगाहा र अभिषेक चर्च रजहर उपाधिका लागि भिड्दै छन् ।
शान्ति दीप युवा क्लबको आयोजना र वडा नं १० को आर्थिक सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल खेलमा समूह “ए” को सेन्ट्रल कलेज २८ विगाहाले समूह “बी” को अभिषेक चर्चसँग फाइनलमा प्रतिस्पर्धा गर्दैछ । उपाधिको दाबेदार मानिएका दुवै टोलीका फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । नवलपुरमै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेता बन्न दुवै टोली तम्तयार रहेका छन् । १ लाख २१ हजारको पहिलो पुरस्कार कुन टोलीको पोल्टामा पर्ने हो त्यो दर्शकका लागि पनि प्रतिक्षाको विषय हो । दुवै टोलीलाई फाइनल जीतका लागि ह्याप्पी टाईम्स https://www.bhappytimes.com/ को शुभकामना ।
दुवै टिमको फाइनल यात्रा
सेन्ट्रल कलेज २८ विगाहा, कावासोती
झाँक्रेलाई २–१ ले पराजित
सेन्ट्रल कलेज २८ विगाहाले समूह चरणको आफ्नो पहिलो खेल मंसिर ११ गते झाँक्रे फुटबल क्लब विरुद्ध खेलेको थियो । उक्त खेलमा २८ विगाहा २–१ गोल अन्तरले विजयी भएको थियो । जसमा मनिष ठाडा र शिव बोटेले समान १-१ गोल गरेका थिए ।
क्वाटरमा रोक्यो भगवतीलाई
मंसिर १८ गते भगवती एकता क्लबलाई क्वाटर फाइनलमा ३–१ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । उक्त खेलमा २८ विगाहाका लागि नविन महतोले २ गोल र शिव बोटेले १ गोल गरेका थिए ।
सेमिमा बरटाँडीलाई हराएर फाइनलमा
प्रतियोगिताको तेस्रो खेल खेलिरहेको सेन्ट्रल कलेज २८ विगाहाले सेमिफाइनल खेलमा बरटाँडी युवा क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । मंसिर २२ गते भएको पहिलो सेमिफाइनल खेलमा २८ विगाहाले बरटाँडीलाई ३–१ ले पछि पार्दै फाइनल प्रवेश गरेको हो । जसका लागि मान बहादुर पाटाले २ गोल र अनिल आलेले १ गोल गरेका थिए ।
अभिषेक चर्च, रजहर
चोरमारा माथि फराकिलो जीत
समूह "बी" मा रहेको अभिषेक चर्चले समूह चरणको पहिलो खेलमा चोरमारा युवा क्लब माथि ५–० ले फराकिलो जीत हासिल गरेको थियो । मंसिर १४ गते भएको खेलमा शाहिदले १ , युमिले २ , लुकाशले १ र राज भुसालले १ गोल गरेका थिए ।
समाज सुरक्षालाई क्वाटरमा फर्कायो घर
मंसिर १९ गते भएको दोस्रो क्वाटर फाइनलमा अभिषेक चर्चले समाज सुरक्षा क्लबलाई पराजित गर्दै घर फर्काएको थियो । सो खेलमा अभिषेक चर्च ७–२ को गोल अन्तरले विजयी भएको थियो । अभिषेकको जीतका लागि युमी ले ४ गोल, राज भुसालले १ गोल, नवराज गुरुङले १ गोल र सुरेन्द्र गुरुङले १ गोल गरेका थिए । सो खेलमा युमीले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका थिए ।
प्रगतिकला मन्दिरलाई सेमिमा रोकी फाइनलमा
मंसिर २३ गते भएको दोस्रो सेमिफाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्चले फाइनलको यात्रा तय गरेको थियो । सेमिफाइनल खेलको जीतमा नवराज गुरुङले १ गोल र गोलोरीले १ गोल गरेसँगै जित सुनिश्चित भएको हो ।
शनिबार (भोली) दिउँसो १ बजे सांस्कृतिक कार्यक्रमको साथमा हुने फाइनल प्रतियोगिताको विजयी टिमले १ लाख २१ ह्जार रुपैंया नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले ७५ हजार नगर नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनल प्रवेश गरेका टिमले पनि ११/११ हजार प्राप्त गर्नेछन् ।