राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्ने भएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुँदै छ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ दिइएको छ । गत चैतको गैंडा गणनामा खटिएका गणकलाई हात्तीले
आक्रमण गरेर घाइते बनाएकाले यस पटकको प्राविधिकको सुरक्षापाटोलाई विशेष ध्यान दिइने भएको छ ।
नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीनवटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना हुनेछ । विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार क्यामेरा जडान गर्ने प्रयोजनका लागि प्राविधिक टोली बस्ने क्याम्प बनाउँदा नै सुरक्षापाटोलाई विशेष ख्याल गरिनेछ । ‘सकेसम्म असुरक्षित लागेको र भित्री भाग (कोर क्षेत्र) मा त्यस्तो क्याम्प खडा गरिने छैन,’ उनले भने, ‘गर्नैपर्ने अवस्था आयो भने सेनासँग सहकार्य गरिनेछ र पर्याप्त मात्रामा हात्ती प्रयोग गरिनेछ ।’
बाघको बासस्थल रहेको सबैजसो क्षेत्रमा जंगली हात्ती आउजाउ गर्छन् । कतिपय अवस्थामा गैंडाले समेत आक्रमण गर्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । प्राविधिकले चितवन–पर्सा कम्प्लेक्समा भन्दा बढ्दा सुरक्षा चुनौती बर्दिया–बाँके कम्प्लेक्सलाई ठानेका छन् । यो कम्प्लेक्समा ८ सय १६ वटा ग्रिड छन् ।
निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र, करिडोर र सामुदायिक वन क्षेत्रमै बाघले आक्रमण गरेका धेरै घटना भएकाले यसपटक संवेदनशील मानिएका स्थान र कोर एरियाभित्र क्याम्प खडा नगरिने भएको छ । ‘पटक–पटक घटना भएका र संवेदनशील भागमा क्याम्प खडा गरिने छैन,’ एनटीएनसीको बर्दिया संरक्षण कार्यक्रमका प्रमुख डा. रवीन कडरियाले भने, ‘विगतमा हामी नदीतटीय क्षेत्र र जंगलको भित्री भागमा टेन्ट राखेर पनि बसेका थियौं, यो पटक त्यो गरिन्न । सेना र निकुञ्जको सुरक्षा पोस्टनजिक क्याम्प बनाएर बस्नेछौं ।’
गणनाको प्राविधिक समितिमा रहेका डब्लूडब्लूएफ नेपालका डा. कञ्चन थापाले कोर क्षेत्रभन्दा बाहिर क्याम्प खडा गरेर पनि बाघ गणनाका लागि क्यामेरा जडान गर्न कुनै समस्या नपर्ने बताए । ‘वन्यजन्तुको त्रास ठानिएको स्थानभन्दा बाहिर क्याम्प बनायौं भने सम्भावित जोखिम न्यून हुन्छ,’ उनले भने, ‘यो पटक एउटा टोलीमा कम्तीमा पनि ६ देखि ८ जना प्राविधिक रहनेछन् ।’ विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी वेदकुमार ढकालका अनुसार ‘टाइगर एन्ड प्रे–बेस मोनिटरिङ प्रोटोकल २०१७’ ले निर्दिष्ट गरेअनुसार क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधिबाट गणना गरिनेछ । फागुनसम्म गणना सकेर
साउन १३ मा विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक गरिनेछ ।
गणना क्रममा बाघ ओहोरदोहोर गर्ने क्षेत्र र बाटो पत्ता लगाएर स्वचालित क्यामेरा राखिन्छ । क्यामेरा पार गरेर बाघ गए आफैं फोटो खिचिन्छ । क्यामेरामा कैद भएका बाघको तस्बिर हेरेर उक्त क्षेत्रमा कति बाघ छन् भन्ने निर्क्योल हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
गणनामा प्रयोग हुने क्यामेरा विशेष खालको हुने र अनुसन्धानात्मक कामबाहेक अन्यत्र प्रयोग गर्न नमिल्ने एनटीएनसी सौराहा कार्यालयका प्रमुख बाबुराम लामिछाने बताउँछन् । विभागका इकोलोजिस्ट ढकालका अनुसार गणनाका लागि तीनवटा कम्प्लेक्सलाई १ हजार ९ सय २४ वटा ग्रिड बनाइएको छ । हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरिनेछ । त्यसो गर्दा जम्मा ३ हजार ८ सय ४८ वटा क्यामेरा प्रयोग गरिनेछ । एउटा ग्रिडमा क्यामेरा जडान गर्न प्राविधिकलाई २० मिनेट समय लाग्छ । एउटा ग्रिडमा १५ दिनसम्म ती क्यामेरा राखिन्छ ।
दाउनेदेखि पूर्व वाग्मती नदीसम्मको चितवन निकुञ्ज, पर्सा निकुञ्ज र आसपासका वन क्षेत्र समेटेर ‘चितवन–पर्सा संयुक्त क्षेत्र’ निर्धारण भएको छ । ‘यो क्षेत्रलाई तीन खण्डमा विभाजित गरेर गणना गर्छौं । एउटा खण्डमा तीन सय ग्रिड हुनेछन् । २ किलोमिटर लम्बाइ र त्यत्ति नै चौडा ग्रिड बनाइन्छ । यसरी एकपटकमा ६ सय क्यामेरा प्रयोग हुन्छन्,’ एनटीएनसी सौराहा प्रमुख लामिछानेले भने । विश्वमा १३ देशमा बाघ पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने देशका कार्यकारी प्रमुखहरूको सम्मेलन भएको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३ हजार ५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो ।
नेपालमा यो गणनामा बाघको संख्या करिब दोब्बर अर्थात् २ सय ५० को हाराहारी पुग्ने अपेक्षा गरिएको छ, सन् २०१० ताका नेपालमा १ सय २१ बाघ थिए । पहिलो गणनामा सन् १९९५/९६ मा करिब सय, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ र सन् २०१८ मा २ सय ३५ बाघ थिए ।