विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष करिब सवा ६ करोड रुपैयाँ राजस्वमा योगदान पुर्याएको छ । आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय तह तथा आन्तरिक राजस्व कार्यालय बबरमहल काठमाडौंमा ६ करोड १६ लाख ४४ हजार ९ सय ५ रुपैयाँ कर दाखिला गरेको हो । विकूको ३२ औं साधारणसभा अन्तर्गत शनिबार इकाइ २ को देवचुली नगरपालिकाको रजहर फारममा भएको कार्यक्रममा विकूका कोषाध्यक्ष कालिदास गौडेलले सो जानकारी दिनुभएको हो ।
उहाँले स्थानीय तहमा घर बहाल कर, आन्तरिक राजस्व कार्यालयमा लाभांश कर, स्रोतमा करकट्टी, आय कर, पारिश्रमिक कर, सामाजिक सुरक्षा कर र ब्याज कर दाखिला गरेको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव प्रेमप्रसाद सापकोटा ‘राजु’ले विकूका सदस्य लक्षित गर्भदेखी स्वर्गसम्म सदस्य हितका २३ वटा वित्तीय र ३८ वटा गैरवित्तीय कार्यक्रम पेश गर्नुभएको थियो । कोभिड १९ बाट आर्थिक क्षेत्रमा परेको प्रभाव कम गर्न, ब्याज छुट, उद्यमशिलता विकास, व्यावसायिक वृद्धिका कार्यक्रम, कृषि व्यवसाय विस्तार, छात्रवृत्ति, निब्र्याज ऋण, उपचार ऋण लगायतका नीति तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक कमल सुवेदीले वार्षिक कार्यक्रम कोभिडका कारण प्रभावित भएपनि प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले स्थानीय निकायहरुका कार्यक्रमहरुमा रणनीतिक साझेदारीको अवधारणालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटाले राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त र अभ्यासरत विकू सिकाईको थलो रहेको बताउनुभयो ।
विकू स्थापनाकालदेखी आफु विकूसँग परिचित रहेको जनाउँदै विकूको कुरा गर्नु भनेको आमाको अगाडी मामाको बयान गरेजस्तै हुने बताउनुभयो । संस्थाले नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेकै कारण सफल हुन सफल रहेको बताउँदै सदस्यको योगदान पनि अतुलनिय रहेको बताउनुभयो । विकूका निवर्तमान अध्यक्ष केशवप्रसाद सापकोटाले स्मार्ट विकूको परिकल्पना गरिएको बताउँदै जगेडा कोषमा आधारित संसारकै तेस्रो उत्कृष्ट सहकारी बनाउने लक्ष्य लिएको बताउनुभयो । त्यसका लागि एक अरबको जगेडा कोष स्थापना र सहकारीका माध्यमबाट सदस्यको सन्तुष्टिसँगै सदस्य विस्तारमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।
देवचुली नगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष विष्णुप्रसाद आचार्य, देवचुली १० का वडा अध्यक्ष केशर आले, गैँडाकोट १३ का वडाअध्यक्ष पदमलाल पौडेलले साधारणसभाको शुभकामना व्यक्त गर्दै विकू स्थानीय सरकार बराबर रहेको बताउँदै स्थानीय तहका कार्यक्रममा सहकार्य गर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष एवं विकूका उपाध्यक्ष यमुनाथ आचार्यले सदस्यलाई कुनै दुःख आउन नदिने खालका सहकारीका कार्यक्रम केन्द्रित रहेको बताउनुभयो । विभिन्न चरणमा गरिएको छलफलबाट नीति तथा कार्यक्रम ल्याईएको बताउँदै उहाँले सञ्चालकलाई उर्जा प्रदान गर्दै सदस्यलाई प्रोत्साहन गर्ने बताउनुभयो । संस्थाका सञ्चालक सदस्य माया कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गर्दै संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले वर्तमान अवस्थामा प्रविधि महत्त्वपूर्ण रहेको जनाउँदै प्रविधि साक्षरतालाई व्यापक गराईने बताउनुभयो । कार्यक्रममा विभिन्न विधामा पुरस्कृत एवम् सम्मान गरिएको थियो । २२ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको विकूमा हाल १ लाख वढि सेयर सदस्य र करिब साढे ८ अरब पूँजी सङ्कलन गर्न सफल भएको छ । विकूले ईकाइ ३ अन्तर्गत मंसिर २५ गैंडाकोटमा साधारण सभा गर्ने कार्यक्रम तय गरेको छ ।