देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पारेर देवचुलीमा लैङ्गिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला अधिकारी मनमाया पंगेनी, एस.पी प्रकाश मल्ल, कानुन विद्ध गणेश सापकोटा, देवचुली नगरपालिकाका प्रवक्ता एवम् वडा नं १३ का वडाध्यक्ष क्यापटेन डिल बहादुर खत्री, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, देवचुली वडा नं १४ का वडाध्यक्ष हेमराज दवाडी, कार्यापालिका सदस्य नवकुमारी शर्मा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा एस पी मल्लले आफ्नो भनाई राख्दै अहिले देखिएको लैंगिक हिंसाको मुख्य कारण पितृ सत्तात्मक समाज रहेको बताउनुभयो। यस्तै उहाँले नवलपुर जिल्लामा बाल बिवाहको भयावह स्थिति रहेको र शिक्षाको कमि अर्को मुख्य समस्या रहेको बताउनुभयो।
यता नवलपुरका प्रमुख जिल्ला अधिकारी मन माया पंगेनीले पनि आफ्नो भनाई राख्दै समाजमा देखिएका घटनाहरुको बिरुद्धमा आवाज उठाउँदै महिलाहरु आफ्नो खुट्टामा उभिने कोसिस गर्यो भने महिला हिंसाबाट बच्न सकिने भएकोले यस तर्फ ध्यान दिन सबैमा आग्रह गर्नुभयो।
कार्यक्रमलाई देवचुली नगरपालिकाका समाजिक विकास शाखा प्रमुख विमला लम्सालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वडा नं १, २, ३, ४, ५ ,१६ र १७ का महिला दिदीबहिनीहरुको सहभागिता रहेको थियो । उनीहरुले आफुहरुले देखेका र भोगेका हिला हिंसा सम्बन्धी आ–आफ्ना अनुभव तथा भनाईहरु राखेका थिए ।