नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले काँग्रेसको सभापतिमा फेरि पनि वर्तमान सभापति शेरबहादुर देउवालाई नै निर्वाचित गराउनु पर्ने बताउनु भएको छ ।
अहिलेको सत्तारुढ गठवन्धनलाई निरन्तरताका लागि देउवालाई नै सभापति बनाउनु पर्ने उहाँको भनाई छ । गृह मन्त्री भएपछि संचार माध्यमलाई दिएको पहिलो अन्तवार्ताका क्रममा नेपाली बहसमा बोल्दै उहाँले नयाँ सभापतिले गठवन्धनको भावना, मर्म बुझ्न नसक्ने भएकाले वर्तमान सभापति देउवा नै फेरि दोहोरिनु पर्नेमा जोड दिनुभयो ।
उहाँलाई अहिले अन्य दलले पनि स्विकार गरेका छनु, अहिलेको भावना र मर्मलाई बुझ्नु भएको छ, अन्य दलहरुले नयाँ नेतृत्वलाई विश्वास नगर्लान, त्यसैले उहाँ नै फेरि सभापति हुनुपर्छ, गृह मन्त्री खाँणले भन्नुभयो ।
त्यसैगरी प्रधानमन्त्री एउटा सभापति अर्को हुँदा काँग्रेसले निर्वाचनमा हारेको इतिहास स्मरण गराउदै आम निर्वाचनमा पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि देउवा नै सभापति हुनुपर्ने उहाँको भनाई छ । काँग्रेसलाई समावेशी चरित्रको गराउनुमा सभापति देउवाको महत्वपूर्ण भूमिका रहेको नेता खाँणले दावी गर्नुभयो ।
काँग्रेसलाई एकतावद्ध बनाउनु अहिलेको प्रमुख चुनौती र दायित्व भएको र अरु धेरै पार्टीहरु टुटफुट हुँदा पनि काँग्रेस नहुनुमा सभापति देउवा सफल भएको उहाँले तर्क गर्नुभयो । पार्टीमा बहुमतमा निर्णय गर्न पाउने अधिकार हुँदा हुदै पनि सभापति देउवाले प्रयोग नगरेर पार्टीलाई एकतावद्ध बनाउनु भएको नेता खाँणले दावी गर्नुभयो ।
सभापति देउवाले सधैँ सहमतीमा जोड दिने गरेकाले कतिपय कामहरु अपेक्षित रुपमा हुन नसकेको पनि उहाँले स्विकार गर्नुभयो ।
आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने बारेमा सोधिएको प्रश्नमा नेता खाँणले सवैको सल्लाह र सुझावका आधारमा जुनसुकै भूमिका निर्वाह गर्न जुनसुकै बलिदान गर्न म तयार रहेको स्पष्ट पार्नुभयो ।