गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै घटना सार्वजनिक भएका छन् । कैलालीको धनगढीस्थित भन्सार रोडकी एक महिलाको घरभित्रै आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ज्यान गयो । गत वैशाखमा भक्तपुरमा झ्याल-ढोका थुनेर कोइला बाल्दा निसासिएर एक सुत्केरीको ज्यान गयो ।यी त सार्वजनिक भएका घटना हुन् । दूरदराजमा यसरी निसासिएर ज्यान गएका कैयौं घटना समाचार बन्दैनन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष अहिलेसम्म निसासिएर मृत्यु भएको कुनै घटना सरकारी निकायमा दर्ता भएको छैन । प्राधिकरणका प्रवक्ता डा. दिजन भट्टराईले अहिलेसम्म विद्युतीय उपकरण एवं आगो बाल्दा निसासिएर वा आगलागी भएर ज्यान गुमाएको भन्ने सूचना प्राधिकरणलाई नआएको जानकारी दिए ।
तर जाडोमा चिसोबाट बच्न हिटर वा कोइला बाल्दा गरिने सामान्य गल्तीले हरेक वर्ष दर्जनौंको ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । हरेक वर्ष चिसो मौसममा निसासिएर ज्यान जानेको यकिन संख्या सरकारी निकायसँगै छैन । यसरी मृत्यु हुने घटनालाई पनि आगलागी शीर्षकमा राख्ने भएकाले एक वर्षमा निसासिएर कतिको ज्यान गयो भन्ने यकिन तथ्यांक नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा सार्वजनिक भएका ६ घटनामा ७ जनाको निसासिएर मृत्यु भयो भने ६ जना घाइते भए । त्यस्तै, २०७५/७६ मा रेकर्ड भएका ६ घटनामा १० जनाले निसासिएर ज्यान गुमाए भने ६ जना घाइते भए । २०७६/७७ मा भएका कुल ८ घटनामा १४ जनाको ज्यान गयो भने ५ जना घाइते भएका छन् ।
२०७३ को पुस पहिलो सातामै काठमाडौं उपत्यकामा मात्रै ११ जनाले निसासिएर ज्यान गुमाएको घटना सार्वजनिक भएको थियो । यी सबै घटनाहरुले चिसो मौसममा झ्याल ढोका थुनेर आगो ताप्ने र आगो बालेर त्यसै निदाउँदा निसासिने वा आगलागीमा पर्ने गरेको देखाएको छ ।
प्राधिकरणका प्रवक्ता डा. भट्टराई विशेषगरी तराई भेगमा निसासिएर मृत्यु हुने र आगलागीबाट ज्यान जानेको संख्या बढी हुने गरेको बताउँछन् । ‘विशेषगरी तराईतिर जाडोबाट बच्न झ्याल/ढोका थुनेर आगो बाल्ने चलन देखिन्छ । जसले एकातिर निसासिने सम्भावना बढी देखाउँछ भने आगो ननिभाई निदाउने हुँदा आगलागीको जोखिम पनि उस्तै बढ्ने गरेको पाइन्छ,’ उनले भने ।
लापरबाही गर्दा झुप्रा र साना घरमा मात्रै होइन, राम्रा होटलमा पनि हरेक वर्ष निसासिएर ज्यान जाने गरेको भट्टराई बताउँछन् ।
जाडोमा किन निसासिन्छ मान्छे ?
चिसोमा निसासिएर मृत्यु हुने अधिकांशमा कार्बनमोनोअक्साइडको असर पर्ने गरेको चिकित्सकहरु बताउँछन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डाक्टर निरज बम जाडो मौसममा चिसोबाट बच्नका लागि भेन्टिलेसन नखोली आगो, गिजर, हिटरजस्ता मेसिनहरु चलाउँदा यसले अक्सिजन सोस्ने र कार्बन मोनोअक्साइड जस्ता हानिकारक ग्यास प्रवाह गर्ने गर्छ । कोइला, मकलजस्ता प्रत्यक्ष धुवाँ आउने प्रविधि एवं हिटर, गिजरजस्ता विद्युतीय प्रविधिले पनि शरीरमा रहेको अक्सिजन सोस्ने गर्छ । यसले शरीरको कोषमा हुने अक्सिजनलाई सोसेर कार्बन मोनोअक्साइड प्रतिस्थापन गराइदिन्छ ।
यो हानिकारक ग्यासले मान्छेमा वान्ता हुने, मुटुको धड्कन असामान्य हुने एवं मस्तिष्कमा असर गर्नेजस्ता लक्षणहरु देखिन्छ । तर सुतेको बेलामा मान्छेले यस्तो लक्षण महसुस गर्न नसक्ने भएकोले मुटुको धड्कन रोकिएर मान्छेको ज्यान जाने गर्छ । यसैलाई हामीले निसासिएर मृत्यु भएको भन्छौं ।
यसबाट बच्न के गर्ने ?
यस्तो जोखिमबाट बच्नको लागि एउटै उपाय हो, सुत्नेबेलामा सावधानी अपनाउनु । धेरैजसो व्यक्तिलाई सुत्ने वा नुहाउने बेलामा यस्तो समस्या हुने गरेको डा. बम बताउँछन् । यसको लागि सावधानी अपनाउनु नै एक मात्र बच्ने उपाय हो । यसको लागि भेन्टिलेसन खुला राख्ने, आगो ताप्दा नजिकै बसेर नताप्ने जस्ता सावधानी अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ ।