नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)को प्रयोग गर्ने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिका सह संयोजक सुरेन्द्र पाण्डेले बताउनुभयो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि १२ गते हुँदैछ । एक जना प्रतिनिधिलाई मतदान गर्नका लागि कम्तीमा आधा घण्टा लाग्ने अनुमान गरिएको सहसंयोजक पाण्डेले बताउनुभयो ।
नवौं महाधिवेशनमा एभिएमको प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि नेतृत्वको चुनावमा मतपत्रकै व्यवस्था गरिएको थियो । निर्वाचनको परिणाम आउनक लागि एक साता लागेको थियो ।
दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिको सहभागी हुनेछन् । गत महिना गोदावरीमा भएको विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ ।
यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।
एमालेले १० गते नारायणी नदीको किरानामा उद्घाटन र सौराहाको हात्तिसारबाट नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने सह संयोजक पाण्डेले बताए ।
एमालेले आगामी कात्तिक २७ गते शनिबार एक पटक देशभरबाट प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ । त्यसअनुसार जनवर्गीय संगठन, भूगोलबाट निर्वाचित भएका सदस्य तथा केन्द्रीय कमिटी र निकायबाट पदेन प्रतिनिधित्व हुने छन् ।
केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि हुने छन् र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीरुलाई मताधिकार हुने छैन् । त्यसैगरी प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ३ जनाका दरले निर्वाचित हुने छ । त्यसपछि ८ सयसम्म सदस्य थप भएमा १ जना, १ हजार ६ सयसम्म सदस्य थप भएमा २ जना, २ हजार ४ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना थप प्रतिनिधि छनोट हुनेछन् । सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने एमालेले जनाएको छ । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य गरिएको छ ।
देशभित्रका विशेष जिल्लाबाट पनि प्रतिनिधिसभाको निर्वाचन क्षेत्र जस्तो संख्यामा प्रतिनिधिहरु छनोट हुने छन् । देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना सो संख्यामा ५ सयसम्म सदस्य थप भएमा १ जना, हजार सदस्य थप भएमा २ जना, १ हजार ५ सयसम्म सदस्य थप भएमा कम्तिमा १ महिलासहित थप ३ जना प्रतिनिधि निर्वाचित हुने छन् । त्यसैगरी सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने एमालेले जनाएको ५ । भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन् ।
प्रवास कमिटी अन्तर्गत भारत, अमेरिका र क्यानडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना क्षेत्र प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका प्रतिनिधिको सहभागिता रहने छ । पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि रहनेछन् ।
त्यसैगरी २२ वटा जनवर्गीय संगठनहरुबाट २ महिलासहित ५ जना दरले प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ रहेको छ ।
त्यसैगरी आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन रहेको छ । नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालबाट महाधिवेशनमा प्रतिनिधित्व हुने छ ।