नेपाली कांग्रेसले छठलगत्तै १३ जिल्लामा बाँकी रहेका वडा अधिवेशन गर्ने तयारी गरेको छ । भदौ १८ देखि नै वडा अधिवेशन सुरू गरेको कांग्रेसले प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा वडा अधिवेशन नै सुरू गर्न सकेको छैन ।
कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा वडा अधिवेशन नै गरेको छैन । रसुवा र रौतहटमा अझै क्रियाशील सदस्यता विवाद टुंगिएको छैन । यही कात्तिक २७ गते बाँकी रहेका जिल्लाका वडा अधिवेशन गर्ने गरी केन्द्रीय निर्वाचन समितिले कार्यतालिका जारी गरेको छ । यसअघि कांग्रेसले ६४ जिल्लामा वडा अधिवेशन गरिसकेको छ ।
साथै २१ हिमाली जिल्लामध्ये १३ जिल्लामा कांग्रेसले जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व ल्याइसकेको छ भने बाँकी ८ जिल्लामा पनि छठलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ । हिमाली जिल्लामा अधिवेशन गराउनका लागि निर्वाचन अधिकृत तोकिइसकेका छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर २४ देखि २६ सम्म काठमाडौंमा गर्ने तयारी गरेको छ । त्यसअघि प्रदेश, जिल्लालगायत विभिन्न तहमा रहेका पार्टी संरचनाका लागि अधिवेशन हुनेछन् ।
कांग्रेसले पटकपटक महाधिवेशनको मिति सार्दै आएको छ । अब तोकिएकै समयमा महाधिवेशन हुने सभापति शेरबहादुर देउवाले दाबी गर्दै आउनुभएको छ । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण ढिलाइ गरेको तथा सदस्यतासम्बन्धी विवाद टुंग्याउन समय लगाएकोले पनि महाधिवेशन पटकपटक सर्दै आएको छ ।