देवचुली ,
चौधरी उद्योग ग्रामबाट उत्पादन हुने चोकरको दररेटका बिषयमा विवाद भएपछी मंगलबार देवचुली नगरपालिकामा त्रिपक्षीय बैठक बसी विवाद समाधान गरिएको छ।
देवचुली नगरपालिकाका तर्फबाट नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, नगरप्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, देवचुली १-५ (साविक दिव्यपुरी) का वडाध्यक्ष, चौधरी उद्योग ग्रामका तर्फबाट पूर्णचन्द्र जोशी, रामकाजी सिटौला, रामचन्द्र धिताल र दुग्ध उत्पादक कृषक समूहका प्रतिनिधिका बिचमा चोकरको दररेटका बिषयमा छलफल गरि हाललाई आगामी माघ मसान्तसम्म पुरानै दररेटमा खरिद बिक्री गर्ने सहमती गरिएको छ।
साथै फाल्गुन १ गतेबाट लागू हुने दरका विषयमा सो समय अगावै देवचुली नगरपालिका, चौधरी उद्योग ग्राम र कृषक समूहका विचमा पुनः छलफल गरि कृषकको हित हुने गरि अघि बढ्ने समेत सहमती गरिएको छ।
छलफल कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले चौधरी उद्योगले किसानलाई नि:शुल्क चोकर वितरण गर्न सके उद्योगको सामाजिक उत्तरदायित्व झल्कने र किसान प्रत्यक्ष लाभान्वित हुने धारणा ब्यक्त गरेका थिए। छलफलमा बोल्दै चौधरी उद्योग ग्रामका प्रतिनिधिले उद्योग ग्राम र दुग्ध उत्पादक कृषक दुबै ब्यवसायिक भएकाले चोकर उत्पादनलाई सामाजिकिकरण मात्रै नगरी ब्यवसायिक ढंगबाट अगाडी बढाउनु पर्ने तर्क अघि सारेका थिए।
बैठकमा उपस्थित किसानहरुले फाल्गुनबाट लागू हुने दररेट किसानमैत्री नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। छलफल बैठकमा नेपाली काङ्ग्रेसका नगर सभापति डिल्लिराम कडरिया, नेकपा एमालेका नगर अध्यक्ष कृष्णबहादुर केसी, नेकपा माओबादी केन्द्रकी नगर अध्यक्ष प्रेमा खनाल, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अध्यक्ष गोविन्द सिग्देल, आर्थिक विकास शाखाका शिव सापकोटा लगायत नगरभित्रका गाई तथा भैसीपालक कृषक प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।