देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १ मा रहेको नेपाल नमुना माध्यमिक विद्यालयले करिब एक विगाह जग्गा खेलकुदका लागि छुटाएको विद्यालयका प्रधानाध्यापक शिव प्रसाद देवकोटाले बताउनुभएको छ । आइतबार नेपाल नमुना मा.विले आयोजना गरेको विद्यालय स्तरीय खुल्ला सेपाक ताक्रो खेलकुद प्रतियोगितामा देवकोटाले करिब ८५ लाखको अडिटेरियम हल बनाउने योजनामा रहेको बताउनुभएको हो ।
उहाँले ४ सय भन्दा बढिले सेपाक ताक्रो, ब्याडमिन्टन, टेबल टेनिस लगायतका खेल अडिटेरियम हल भित्र बसेर हेर्न मिल्ने अडिटेरियम हल बनाउने योजनामा रहेको बताउनुभएको छ । निकट भविष्यमा विभिन्न संघ संस्थाहरुबाट सहयोग भएमा २०८० सालमा यो योजना पूरा गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक देवकोटाले बताउनुभयो । बालबालिकाहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन आजको आवश्यकता रहेको उहाँको भनाई रहेको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । तिवारीले भलिबल जस्तै हातको सट्टा खुट्टा र टाउकोको प्रयोगबाट खेलिने सेपाक ताक्रो खेलमा देवचुली नगरपालिकाबाट पनि बालबालिका सहभागी भएको देख्न पाउँदा निकै खुशी लागेको बताउनुभएको थियो । उहाँले देवचुली नगरपालिकामा व्यवस्थित खेलकुद मैदान नहुँदा यहाँका खेलाडी ओझेलमा परेको भन्दै छिट्टै नै खेलकुद मैदान निर्माण गर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेपाल सेपाक ताक्रोका केन्द्रिय उपाध्यक्ष जितेन्द्र थापा मगर, केन्द्रिय सचिव नेशरी मास्के, केन्द्रिय कोषाध्यक्ष नरबहादुर थापा , शिक्षा तथा खेलकुद देवचुली नगरपालिकाका प्रमुख रामप्रसाद शर्मा, खेलकुद विकास समिति नवलपुरका प्रमुख एवं प्रतिनिधि, देवचुली वडा नं १, २ र ४ का वडाध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगर उपप्रमुख पार्वता तिवारीले खेलाडीलाई बल पास गरेर प्रतियोगिताको उद्घाट गर्नुभएको थियो । अहिले काठमाडौँ र नवलपुरका खेलाडीहरु विच प्रतिशपर्धा भइरहेको छ । उक्त प्रतियोगितामा १२ जना टिमका ५० खेलाडीहरुले भाग लिएका छन । साँझ ५ बजे खेल सकिने बताइएको छ ।