बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए । बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।
झाडापखालाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।
झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन । तर दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान छ । पानीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । आज दिउँसोसम्म रिपोर्ट आउने र त्यसपछि मात्र कारणबारे बोल्न सकिने स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।
यसैगरी जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।