ज्ञानु पंगेनी
कावासोती, असोज ११
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीमा माछाको ल्याब स्थापना गरिने भएको छ ।दशै अघि नै ल्याब स्थापना गर्नेगरि कार्य अगि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले जानकारी दिनुभयो । कार्यालय हाताभित्र नै ल्याब स्थापना गरिने छ । ल्याबका लागि आवश्यक सामाग्री खरद गर्नेक्रममा रहेको उहाँले बताउनुभयो
अहिले माछा पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरुले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका छन् । जिल्लामा ल्याब नहुँदा माछा पालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याब स्थापना हुनेभएपछि माछा पालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मदत् पुग्नेछ ।बाहिरबाट आउने माछामा फर्मालिनको अत्याधीक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ ।
ल्याब स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने मत्य विकास अधिकृत सन्दिप लामिछानेले बताउनुभयो ।यस्तै पोखरीको पानीको गुणस्तर जाँच , माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याब स्थापनापछि जिल्लाका माछा पालक किसान लाभान्वित हुने लामिछानेको भनाई छ ।
यसैबीच पूर्वी नवलपरासीमा माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।
कोभिड – १९ संक्रमणकैबीचमा पनि माछा पालनतर्फ किसानहरुको आकर्षण बढेको पाईएको छ । अघिल्ला वर्षको तुलनामा पछिल्लो वर्षमा व्यवसायीक माछा पोखरीको क्षेत्रफलमा बृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीको तथ्याङ्कले देखाएको छ
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्य विकास अधिकृत सन्दिप लामिछानेका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/ ०७७ मा जिल्लामा एक सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको थियो । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा उक्त क्षेत्रफलमा बृद्धि भएर दुई सय १० हेक्टर पुगेको छ । एक वर्षको अन्तरालमा करीब ३० हेक्टर क्षेत्रफल बृद्धि भएको छ ।७ सय हेक्टर क्षेत्रफलमा प्राकृतिक पाखेरीमै किसानले माछा पालन गर्दै आएको लामिछानेले बताउनुभयो । गत वर्ष कार्यालयको अनुदान मार्फत् ५२ रोपनीमा नयाँ पोखरी विस्तार गरिएको समेत लामिछानेले जानकारी दिनुभयो । जिल्लामा माछा उत्पादनमा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ८ सय ९५ मेट्रिकटन उत्पादन भएको थियो । भने , पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ३७० मेट्रिकटन उत्पादन भएको लामिछानेले बताउनुभयो ।
कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढि हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने लामिछानेले बताउनुभयो ।
कोभिड संक्रमणको समयमा अन्य पशुपालनतर्फ धेरै समस्या आउदा माछाको बजारमा भने , खासै ठूलो समस्या नआएकाले पनि माछापालनतर्फ किसानको आकर्षण बढेको उहाँको भनाई छ । जिल्लामा कार्यालय स्थापनापछि माछा पालनतर्फ प्रत्यक्ष रुपमा विभिन्न अनुदानका कार्यक्रम समेत उपलब्ध गराएका कारणले समेत माछा पालनमा किसानहरुले रुचि देखाएको उहाँ बताउनुहुन्छ । यस वर्ष समेत कार्यालयले नयाँ माछा पोखरी निर्माण , पुरानो मर्मत् र माछाका भुरामा एक करोड रुपैँया बराबरको अनुदान दिदैछ ।
यहाँका स्थानीय तहले समेत माछा पालन पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराउँदै आएका छन् ।
कावासोती र देवचुलीको विभिन्न वडालाई माछा पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराईदै आएको छ । जिल्लाको कावासोती , देवचुली र मध्यविन्दुमा माछा पालन गर्ने किसानको संख्या बढि रहेको लामिछानेले बताउनुभयो ।