नेकपा एमालेबाट अलग भएर नेकपा एकीकृत समाजबादी पार्टी निर्माण गरेका माधव कुमार नेपालको पार्टी वि.पी. कोइरालाको समाजबाद जस्तै भएको नेकपा एमालेका स्थाई कमिटी सदस्री एवं गण्डकी प्रदेश संयोजक किरण गुरुङ्गले बताएका छन् ।
गुरुङ्गले नेकपा एमाले जिल्ला कमिटी नवलपुरले दलदलेमा आयोजित वृहद कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। कार्यक्रमको प्रमुख अतिथिका रुपमा नवलपुर आएका गुरुङ्गले माधव नेपालको पार्टीले बैज्ञानिक समाजबाद नभई विपीको जस्तो पुँजीबादी समाजबादको आडमा पार्टी निर्माण गरेको बताए। गुरुङ्गले भने- माधव नेपालले एमालेमा छँदा पनि कहिले बिचारको राजनिती गरेनन्, र अहिले पनि नेपाली काङ्ग्रेसको पुँजीबादी समाजवाद बोकेर हिंडेका छन् ।
भिष्मपितामह जस्तो नेकपा एमालेलाई बिखण्डन गर्न प्रचण्डले माधव नेपाललाई "सिखण्डी" का रुपमा प्रयोग गरेको आरोप लगाउँदै संयोजक गुरुङ्गले नेकपा एमाले नारायणी जस्तै भएको चित्रण गरे। जसरी नारायणी बर्खा या हिउँदमा आफ्नै गतिमा बगिरहेको छ नेकपा एमाले पनि आफ्नै गतिमा अघि बषेको छ, गुरुङ्गले भने। नारायणीको भेल सङ्लिएको भन्दै नेकपा एमाले पनि शुद्धीकरण भएको उनले बताए।
साथै उनले हाल निकै चासोको रुपमा हेरिएको एमसीसीका विषयमा अहिले बोलिहाल्ने अवस्था नरहेको पनि बताए। कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व भुमिसुधार मन्त्री पद्मा अर्यालले गल्ती सच्याएर एमालेमा फर्किन नचाहे माधव नेपाललाई "बाई-बाई माधव नेपाल" भनेर एमालेका नेता कार्यकर्ताले बिदा गर्ने बताईन।
उनले देशमा एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता भएकाले माधव नेपाल, प्रचण्ड जस्ता नेतालाई एमालेमा ल्याएर कम्युनिस्ट पार्टीको नेतृत्व एमालेले गर्ने बताइन। उनले भनिन- देशमा एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता छ, त्यसको नेतृत्व एमालेले गर्नेछ। कार्यक्रमको विशेष अतिथी संघिय सांसद तिलक महतले देशमा नेपाली काङ्ग्रेस नेतृत्वको सरकार धेरै दिन नटिक्ने भन्दै आगामी चुनाबमा नवलपुरका स्थानिय तहमा दोश्रो हुने छुट नेकपा एमालेका नेतालाई नभएको बताए। महतले माधव नेपालले राष्ट्रघाती खेल खेलेका आँफूहरुले साथ नदिएको बताए। कार्यक्रममा नेकपा एमालेका नेता रबिन्द्र अधिकारी, खगराज अधिकारी, कृष्ण पौडेल लगाएतले बोलेका थिए। वृहद कार्यकर्ता भेलामा अन्य पार्टी छोडी नेकपा एमाले प्रवेश गर्ने कार्यकर्तालाई संयोजक गुरुङ्ग एवं सांसद महतले अबिर र दोसल्ला ओढाएर स्वागत गरेका थिए। पार्वता तिवारीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण जीवन श्रेष्ठले गर्नुभएको थियो।