देवचुली,
“सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मूल नाराका साथ मंगलबार (आज) ५७ औँ राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाइएको छ । १०३.८ मेगाहर्ज ह्याप्पी एफ.एम र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा सन्दर्भ बालबालिकाको : सवाल, समस्या र समाधान भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । सो कार्यक्रममा बिशेषगरि वर्तमान समयमा बालबालिका माथि उठेका सवाल, यिनका समस्या र समाधानका केही उपायहरु खोज्ने प्रयास गरिएको थियो । कार्यक्रममा आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षता रहेको थियो भने नवलपुर जिल्ला प्रमुख अधिकारी मनमाया पंगेनी भट्टराईको प्रमुख आतिथ्तयता रहेको थियो ।
कार्यक्रम दुई सेसनमा गरिएको थियो । पहिलो सेसनमा फर्मल कार्यक्रम भएको थियो भने दोस्रो सेसनमा प्रमुख अतिथी/वक्ता नवलपुर जिल्ला प्रमुख अधिकारी मनमाया पंगेनी भट्टराई, देवचुली नगरपालिका कार्यपालिका सदस्य शुभोचन्द्र सुवेदी/वक्ता, देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता/वक्ता खिमानन्द भुसाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष/वक्ता नारायण शर्मा र देवचुली नगरपालिकाका किशोरी अभियान्ता/वक्ता रेजिना घर्ती मगरसँग प्यानल डिस्कसन ह्याप्पी एफ.एमका स्टेशन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो ।
प्यानल डिस्कसन कार्यक्रममा प्रमुख अतिथी/वक्ता नवलपुर जिल्ला प्रमुख अधिकारी मनमाया पंगेनी भट्टराईलाई पछिल्लो समय बालबालिका बेपत्ता भइरहेका सवाल, घरेलु हिंसा र निति नियम कार्यान्वयनका कुरा, बाल हिंसामा पिडितले न्याय नपाउनुको कारण, कोभिड–१९ महामारीले बालबालिकामा परेको असर, महामारीमा बालबालिकाका सवाल र चासो भन्ने विषयमा प्रश्नकर्ता आदर्श सुशिलले प्रश्न गर्नुभएको थियो । यिनै प्रश्नलाई जवाफ दिदैँ प्रमुख अतिथी/वक्ता पंगेनीले बिस्तारै बालबालिकालाई खोपको व्यवस्था गर्ने, सामाजिक सञ्जाल दुरुपयोगका विषयमा हप्तामा एकपटक बालबालिका, अभिभावक, शिक्षकहरु र स्थानीय तहसँग कार्यक्रम गर्नुपर्ने, हरेक बालबालिकाको जन्मदर्ता अनिवार्य हुनुपर्ने, नागरिता पटक–पटक गल्ती हुँदा बृद्धबृद्धा र ति अभिभावकका बालबालिकाहरुले दुःख पाइरहेकाले यसलाई समाधान गर्ने तर्फ लाग्ने, स्थानीय तहका सामाजिक विकास शाखाहरु चनाखो रहनुपर्ने जस्ता विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
यसैगरि प्यानल डिस्कसन कार्यक्रममा प्रश्नकर्ता भुसालले देवचुली नगरपालिका बालमैत्री परामर्शा दाता/वक्ता खिमानन्द भुसाललाई बालमैत्री नगरपालिका घोषणा पूर्व र पश्चातका अवस्था, पछिल्लो समय बालबालिकाको अवस्था, तथा घरेलु हिंसाको विषयमा सवाल गर्नुभएको थियो । परामर्शा दाता/वक्ता भुसालले बालमैत्री नगरपालिका घोषणा भएपश्चात बालबालिकामा परेको मनोविज्ञान, बालबालिकाले अधिकार मागिरहँदा आँफूहरुले पूरा गर्नुपर्ने कर्तव्यका विषयमा, कोभिडले बालबालिका माथि परेको असरलाई आगामी दिनमा बालबालिकाकै सहयोगमा समाधान गर्न तर्फ अगाडि बढ्नुपर्ने जवाफ दिनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका कार्यपालिका सदस्य शुभोचन्द्र सुवेदीले नितिनिर्माण तहमा बालबालिकालाई प्राथमिकता, बालमैत्री नगरपालिका घोषणा र कार्यान्वयनका सवाल, प्रविधिको दुरुपयोगमा स्थानीय सरकारको उपस्थिती र बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सहभागिता, खेलकुदमा कम बजेट विनियोजन किन भन्ने विषयमा प्रशनकर्ता भुसालले सवाल गर्नुभएको थियो । देवचुली नगरपालिका कार्यपालिका सदस्य/वक्ता, शुभोचन्द्र सुवेदीले आगामी दिनमा देवचुली नगरपालिकाले कुनैपनि कार्यक्रम गर्दा बालबालिकालाई अनिवार्य सहभागिता गर्ने, नितिनिर्माण गर्दा बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्ने जस्ता विषयमा आफ्नो विचार राख्नुभएको थियो ।
प्यानल डिस्कसन कार्यक्रममा देवचुली नगरपालिकाका किशोरी अभियान्ता/वक्ता रेजिना घर्ती मगरलाई बालबालिकाहरु प्रति सरोकारवालाको चासो र चिन्ता कस्तो रहेको छ, स्तानीय तहले बालबालिकाको मुद्धा सम्बोधन गरे/नगरेको विषय, नेपाल र अन्य देशका बालबालिकाको अवस्थामा समानता र भिन्नता कस्तो रहेको छ भन्ने विषयमा प्रश्नकर्ता भुसालले सवाल गर्नुभएको थियो । यिनै सवालको जवाफ दिदैँ घर्तीले बालमैत्री नगरपालिका घोषणा पश्चात नगरपालिकाले गम्भीर रुपले काम नगरेको, बालमैत्री घोषणा भइसकेपछि पनि नगरपालिकामा बेला–बेला भइरहने हिंसा, दुव्र्यहार र बालविवाह जस्ता घटनामा कमी नआएको र आगामी दिनमा बालबालिकाका क्षेत्रमा सतप्रतिशत लगानी गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष/वक्ता नारायण शर्माले बालबालिकाकासँग सम्बन्धित विभिन्न घटना मिडियामा आउँदा संञ्चार माध्यमको भूमिका कस्तो रहन्छ भन्ने विषयमा प्रश्नकर्ता भुसालले सवाल गर्नुभएको थियो । शर्माले बालबालिकाका क्षेत्रमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने र सत्यतथ्य छानविन गरि अन्यायमा परेका बालबालिकालाई न्याय दिनुपर्ने जस्ता कुराहरु राख्नुभएको थियो ।
प्यानल डिस्कशन कार्यक्रममा उपस्थित बालबालिका, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरुले आ–आफ्नो मनमा लागेका विचारहरु राखेका थिए । आएको सवाललाई प्यानल डिस्कशनमा रहेका वक्ताहरुले जवाफ दिएका थिए ।
यसैगरि कार्यक्रममा १०३.८ मेगाहर्ज ह्याप्पी एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले बालबालिकाको क्षेत्रमा रेडियोले खेलेको भूमिका र साझेदार संस्थासँगको सहकार्य माथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा आभानी जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले स्वागत मन्त्वय राख्नुभएको थियो । यसैगरि कार्यक्रमको समापन आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरियाले समापन गर्नुभएको थियो ।