पाेखरास्थित फेवाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएकाे २५ सय राेपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएकाे छ । संघ सरकारले गत कात्तिकमा गठन गरेकाे कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय समिति अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम गर्न भनेकाे छ । याे भनेकाे २०३८ को फेवातालको आकार कायम गरिएकाे हाे ।
प्रतिवेदन अनुसार लालपुर्जाभित्रको २५ सय रोपनी जमिन दूषित पाइएको छ । तालले चर्चेको २५ सय रोपनीको लालपुर्जा खारेज गर्न वा अर्को निर्णयका लागि सिफारिस गरिएको पौडेलले बताउनु भएकाे छ । ‘धेरै दसी प्रमाण जुटाउँदा व्यक्तिले आफ्नो नाममा गरेका तालको जमिन कुनै पनि अवस्थामा निजी देखिँदैन । संक्रमणको समय छोपेर उनीहरुले दर्ता गरेको पाइएको छ,’ उहाँ भन्नु हुन्छ, ‘कि सरकारले अर्को निर्णय गर्नुप-यो नत्र त्यो जग्गाको निजी लालपुर्जा खारेज गर्नुपर्छ । ती जमिन दुषित होइन भन्न सकिएन ।’
समितिका अनुसार तालभन्दा बाहिर थप ४५ रोपनी जग्गा निस्किएको छ । समितिले प्रदेशका मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ भने संघ सरकारलाई बुझाउन काठमाडौं पुगेकाे छ । समितिमा पोखराका मेयर, नापी, मालपोत, सिँचाइ, वन कार्यालय लगायतका प्रतिनिधि सदस्य छन् । अब तालको मापदण्ड तोक्ने जिम्मा पोखरा महानगरको छ । मापदण्ड विपरित बनेका संरचना हटाउने काम प्रदेश र स्थानीय सरकारले गर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।
२०६९ मा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रमाण निकालेको थियो । समितिले ९ सय ५० जना व्यत्तिको लालपूर्जा खारेज गर्न सिफारिस गरे पनि कार्यान्वयन हुन सकेन । ६ वर्षअघि फेवासहित कास्कीका ९ ताललाई रामसार सूचीमा सूचीकृत गरिएको छ । तर, संरक्षणका लागि विशेष काम भएको छैन ।
सर्वोच्च अदालतले २०७५ मा फेवाताल अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सरकारलाई आदेश दिएको छ । त्यतिमात्रै होइन, तालको सीमा तोक्न र दूषित रुपमा दर्ता भएका जग्गा खारेजी तथा तालको संरक्षणका लागि गुरुयोजना बनाउने जिम्मा पनि तीनै सरकारको काँधमा छ ।
फेलातालमा २०१८ मा पहिलो पटक बाँध बाँधिएको थियो । तत्कालीन समयमा सिँचाइ विभागले तालको उचाईँ ७९४.४ मिटर निर्धारण गरेको छ । स्थानीयले तत्कालीन राजालाई निवेदन दिएपछि एक मिटर घटाएर ७९३.४ मिटर कायम गरिएको थियो । २०३१ सालमा बाँध फुटेपछि तालले चर्चेको जमिन व्यक्तिले पहुँचका भरमा आफ्नो नाममा दर्ता गरेको पौडेलले बताउनु भएकाे छ ।
२०३१ देखि २०५५ सम्म पनि विभिन्न व्यक्तिको सिफारिसका आधारमा जग्गा दर्ता भएको देखिएको छ । ‘२०३१ सम्म पानीले भरियो । बाँध भत्किएपछि २०३२ देखि नापी गयो, सबैले लालपुर्जा लिए । ३८ सालमा अर्को बाँध बनेपछि पानीले डुवायो,’ उहाँले भन्नु भएकाे छ, ‘त्यसपछि लालपुर्जावालाले मुआब्जा मागे । पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशकको संयोजकत्वमा मालपोत, नापी र अन्चाधिसको प्रतिनिधिको समितिले अध्ययन गरेर लालपुर्जा खारेज गर्न सुझाव दियो । तीनजना मन्त्रीले लालपुर्जा खारेज गर्ने निर्णय गरेका छन् ।’
तत्कालीन जलस्राेतमन्त्री पशुपति शमसेर जबरा, डिपी अधिकारी र यादवप्रसाद पन्तले लालपुर्जा खारेज गर्ने निर्णय गरे पनि अहिलेसम्म खारेज नभएको पाइएको हो ।
२०४६ मा पूर्णबहादुर गुरुङसहितका १ सय ८२ जग्गाधनीले हकभोगका लागि निवेदन दिनु भएकाे थियाे । मन्त्रालयले पुनः खारेज गर्ने, सीमाना छुट्याउने र राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिदियो । त्यो जानकारी गराउन मालपोतलाई मन्त्रालयले पत्र लेखेको भेटिएको छ ।
तर, मालपोतले ती निर्देशन लुकाएको समितिको आरोप छ । ‘मालपोतलाई कार्यान्वयन गर भनेको छ । तर उसले कार्यान्वयन गरेको देखिएन । ४६ सालको पुसमा पूर्णबहादुरसहित जग्गाधनीलाई मालपोत खारेज भएको जानकारी गराएको छ । बहुदल आएपछि हरायो, सबै । मालपोत, नापी लगायत कार्यालयले अनदेखा गरेको रहेछ । हामीले प्रमाणसहित पेस गरेका छौं,’ उहाँले भन्नु भएकाे छ । फैसला अनुसार समयमा काम नगरेको आरोपमा तीनवटै सरकारले अदालतको मानहानी मुद्दा खेपिरहेका छन् ।