देवचुली,
कार्तिकको चिसो महिना । बिहानी पख सपना देख्दै मस्त निदाइरहेकी थिए । एक्कासी आमाले “सात बजिसक्यो उठ्ने हैन ?” भनेपछि पो ब्युँझें । ओछ्यानबाट टाउको तन्काएर बाहिर के हेरेको थिए पारिको निलो पहाडबाट निस्केको घामको किरणले मलाई नै हेरिरहेको भान भयो । हुन त घाम सदा जस्तै उदाएको हो, तर त्यस दिन घामले मलाई एकहोरो हेरे जस्तो लाग्यो । सायद अब केही दिन यसले मलाई हेर्न नपाउने भएर पो होकी । यस्तै कुरा मनमा गम्दै थिएँ । एक्कासी शरिर निकै भारी भएको आभाष भयो । उठ्ने मन नै थिएन । कता–कता के के दुखिरहेको थियो । शरिर निकै असहज पनि भईरहेको थियो । अब त उठ्छु भनेर आँफू माथि भएको सिरकलाई पन्छाएँ र खाटबाट ओर्ले । त्यस्तो असहज सायदै कहिले महसुस भएको थियो । जति मलाई त्यो दिन भयो । थाहा छैन त्यति बेला मुटुको धड्कन किन त्यति तेज गतिमा धड्किरहेकोे थियो । मलाई साँचै कस्तो अनौठो महशुस भएको थियो ।
बिस्तारै बाथरूम पुगेँ । बाथरूममा पुगे पछि पो थाहा भयो, म त “नछुने” भएकी रहेछु । । मेरो भित्री बस्त्रमा रातो रगतको दाग थियो । त्यही पनि विश्वास नै लागेको थिएन । मनमा खुब डर पैदा भयो । मैले मनमनै सोचि सकेकी थिएँ । यो मेरो पहिलो महिनावारी हो । एक मन त लाग्यो – ममा आमा बन्न पाउने सौभाग्यको विजारोपण भएको थियो भने अर्काे कुरा अब म पहिलेको जस्ती कन्या केटी रहिन । सानो छँदा घरमा, छिमेकमा पूजा लगाउँदा कन्ये केटी लिएर आउनु भन्दा हामी खुरूरू दौडिदै टिका लगाउन पुग्थ्यौँ । मलाई मेरा गाउँका दिदीहरू, साथीहरू महिनावारीको समयमा घरपरिवारबाट टाढा लुकेर बसेको देख्दा दुःख लाग्थ्यो तर आज म पनि त्यसरी नै घरबाट पर गएर लुक्नु पर्ने दिन आएको थियो । सम्झँदा पनि आँखा भरि आशु आयो, मनमा अनेक प्रश्न आयो । के गरौँ, कसो गरौँ,कसलाई भनौँ । केही सोच्नै सकिन ।
पहिलो महिनावारीमा म बल्ल १४ बर्षकी थिएँ । कक्षा आठमा पढ्दै थिएँ । हुन त उमेर पनि महिनावारी हुने समय भइसकेको थियो । तर अचानक यसरी होला भन्ने केही सोचेकी थिईन । केही महिना अगाडि तल घरको आन्टीको छोरी महिनावारी भएर तीन दिन घरबाट छिमेकीको घरमा लुकाएर राखेका थिए । झलस्स दिमागमा त्यही याद आयो ।
यस अघि महिनावारीका बिषयमा केही कुराहरू लजाएरै भए पनि ठूला दिदीहरूको मुखबाट सुनेकी थिए । तर यसरी एक्कासी होला भन्ने हेक्का पनि थिएन ।
म एउटा शिक्षित परिवारबाट थिएँ । ममीले विद्यालयमा पढाउनु हुन्थ्यो । ड्याडी पुलिस अफिसर हुनुहुन्थ्यो । जति नै शिक्षित परिवारबाट भएपनि महिनावारी जस्तो विषयमा भने शिक्षाको कमी थियो । महिनावारीको समयमा घाम हेर्न नहुने, घरको छोरा मान्छे हेर्न नहुने, भान्साकोठा जान नपाइने, पूजा कोठा जान नपाइने, त्यस्तै आदि इत्यादि । हामी जुम्ल्याहा दिदीबहिनी हौँ । म दिदी हुँ । एकैपटक जन्मेको जुम्ल्याहामा सबै कुराहरु एकैचोटि हुन्छ भन्ने मान्यता थियो र छ पनि । त्यो हामीमा पनि हुन्थ्यो । सानै देखि एउटा रूदा अर्को पनि रूने, भोक सँगै लाग्ने, बिरामी सँगै हुने, यस्ता धेरै कुराहरू एकैचोटी हुने गथ्र्यो । ममीलाई पिर थियो कि दुवै छोरीहरु एकैचोटि महिनावारी नभइदिए हुन्थ्यो भन्ने । एकैचोटि भयो भने गाह्रो पनि हुन्थ्यो होला । ठ्याक्कै त्यो दिन भने ममीको कुरा पूरा भयो । म कार्तिकमा पहिलोपटक महिनावारी भएकी थिएँ भने बहिनी एलिसा माघमा भएकी थिई ।
बाथरूममा नै थिएँ । अब ममी र आमालाई भन्नू थियो । भाइ (सुशान्त) उठेको थिएन । बहिनी मामाघर गएको थिई । बाथरूमबाट ममी र आमा भनेर दुवैलाई बोलाए । ममी भान्सामा हुनुहुन्थ्यो । त्यतिबेला ड्याडी भने कामकै सिलसिलामा भैरहवा हुनुहुन्थ्यो । आमा बाहिर काम गरिरहनुभएको थियो । मैले बोलाए पछि आमा र ममी आउनुभयो । मैले म महिनावारी भएको सबै कुराहरू रूदै भने । ममीले कति बेला भएको केही थाहा पाईस भन्नू भयो । मैले आँखाबाट आशु झार्दै “खै थाहा भएन” भने । ममीले सम्झाउँदै भन्नुभयो– केही हुँदैन एकदिन सबै हुने नै हो, चिन्ता नगर्नु ।
ममीले त्यसो भनि रहँदा मनले सोच्यो कि अब कति दिन लुकेर बस्नुपर्ने हो, ड्याडि र भाईलाई छुन नपाईने हो । यस्तै धेरै कुराले मेरो मन विचलित बनाईरहेको थियो । मैले सोच्दा सोच्दै ममीले मलाई लुकाउनका लागि छिमेकी एकजना आमाको घरमा व्यवस्था गरिसक्नु भएछ । पूरानो सोचका आमाहरु नियम पनि पूरानो नै थियो । ममीको पनि आमाहरुको अगाडि यस्ता कुरामा केही सीप लाग्थेन । त्यतिकैमा आमाले साबुनले नुहाउनु हँुदैन, ज्यान र टाउको यतिकै पखाल भन्नू भयो । मैले त्यसरी पनि कसरी नुहाउने हो र भने, आमाले कराउन थालेपछि म बाध्य भए । छिटो छिटो नुहाएर भाइ उठ्न भन्दा पहिले नै मलाई छिमेकी आमाकोमा लगियो । आमाको घर हाम्रो घरबाट २ मिनेट मात्र पर थियो । त्यहाँ छिमेकी आमा बाहेक अरू कोही बस्दैन थियो । मलाई एउटा कम्मल र तन्ना दिईयो । मैले त्यहाँ तीन रात बिताउनु पर्याे । अहिले सम्म एक्लै त्यसरी एक रात नबिताएको म सम्झेर पनि रून मन लाग्यो । तर मलाई घाम नहेरी, केही कुरालाई नछोई, दाजुभाइ नहेरि तीन रात कटाउनु पर्ने भयोे । ममीले मलाई सेतो नरम टालो तीनटा टुक्रा दिनुभयो । मैले त्यो नरम कपडा मेरो योनीमा राख्नुपर्ने हुन्थ्यो ताकि मेरो योनीबाट बगेको रातो रगत बाहिर नबगोस । ममीले सजिलैसँग सिकाउनुभयो । मैले बुझे भनेर टाउको त हल्लाए तर बुझ्न त के बुझथेँ र त्यही पनि बुझे जस्तो गरेकी थिए । पेटसँगै ढाड पनि नमज्जाले दुखेको थियो ।
यसरी सुरू भयो मेरो तीन रात :
कसरी व्यक्त गरौँ ती दिनहरू । आफ्नो घरमा त हुकुम चलाउन पाईन्थ्यो तर अरूको घरमा कसरी चलाउनु ? त्यहीँ माथि महिनावारीको समयमा । मलाई ज्वानोको रस भनेपछि परैबाट वाक्क आउने । छिमेकी आमाले ज्वानोको रस नै पकाएर खुवाउन थाल्नुभयो । अहिले जस्तो बजारमा फलफूल, जुस गाउँमा त्यो समय कहाँ पाउनु ? ज्वानोको रसबाट पौष्टिक आहार धेरै मिल्छ भनेर होला मलाई तीन दिनमा दस पटक भन्दा बढि त्यही मात्रै खुवाउनु भयो । सुरूमा साह्रै गाह्रो भयो, पछि त मिठो लाग्न थाल्यो । त्यसले मेरो पेटलाई पनि हल्का गर्यो, ढाड पनि कम दुख्यो । दिउँसो साह्रै अत्यास लाग्थ्यो । छिमेकी आमा पनि काम गर्न बाहिर जाने, मलाई न बोल्ने साथी थिए न खेल्ने । हामी त्यो समय गट्टा खुब खेल्थ्यौँ तर त्यति बेला न मसँग गट्टा थियो न गट्टा खेल्ने साथी नै । कात्तिकको महिना सबैलाई धान काट्ने चटारो थियो । मलाई भेट्न आउने फुर्सद कसलाई नै हुन्थ्यो । हामी गाउँमा कोही साथी महिनावारी भएको थाहा पायौँ भने भेट्न बिस्कुट मिठाई लिएर जान्थ्यौँ । तिनै साथीहरू पैचो तिर्न भए पनि बेला बेला अमिलो, चाउचाउ, बिस्कुट, मिठाइ लिएर आउथँे । महिनावारी नभएको साथीहरूलाई पनि के – के हुन्छ भनेर भनेकी थिए ताकि भोली उनीहरू म जस्तो अन्जान नहुन भनेर ।
यसैगरि तीन दिन सकियो । त्यस दिनदेखि प्रत्येक महिना मेरो महिनावारी सूरू भयो । म दोस्रो महिनावारीको समयमा पनि घरमै लुकेको थिएँ । तर बहिनी महिनावारी हुँदा भने दोस्रो पटक लुक्न परेन । समयसँगै सबै कुराहरू परिवर्तन हुँदै गएको थियो । मलाई महिनावारी हुने समय आउने बित्तिकै सार्है चिन्ता लाग्थ्यो । महिनावारीको समयमा पेट दुख्ने, ढाड दुख्ने, रगत धेरै हुने गथ्र्याे । नारीलाई महिनावारीको समयमा कति धेरै पिर पर्छ त्यो नारीले नै भोगेकी हुन्छे । चाहे जाडो होस् या गर्मी महिनावारीको समयमा प्याड र कपडा अनिवार्य राख्नै पथ्र्याे । नभए त रगत पूरै कपडाभरि लाग्थ्यो । कुनै चाडपर्वका बेला महिनावारी भयो भने सबै सँगै हुन पाईन्थेन । कति पटक त चाडपर्वका बेला मैले महिनावारी रोक्ने औषधि खाएर रोक्ने गर्थे । जसले गर्दा मलाई हरेक महिनावारीको समयमा पीडा हुन्थ्यो ।
समाजमा अझै पनि महिनावारीको समयमा बार्ने चलन छ । नहोस पनि कसरी, पूरानो जमनाको बुबाआमालाई हामीले एकैपटक परिवर्तन गर्न सकिँदैन र एकैपटक उहाँहरूलाई परिवर्तन गर्छु भन्ने सोच पनि गलत हो । हाम्रो परिवारमा अहिले भने धेरै परिवर्तन भएको छ । गाउँ छाडेर बजारमा छौँ । गाउँमा जस्तो बजार क्षेत्रमा महिनावारीमा सबैकुरा बार्ने चलन त छैन र सम्भव पनि छैन । गाउँमा बसुन्जेल हामी महिनावारीको समयमा जाडोमा पनि चिसो नभनि भुँईमा सुत्नु पथ्र्याे । तर अहिले भने हामी बेडमा नै सुत्छौँ । भान्सामा गएर तरकारी केलाउँछौँ, भाडा माज्छौँ । पहिले हामी पर बसेर खानुपथ्र्याे, दाजुभाइसँग छोईनु हुन्थेन । तर अहिले त्यस्तो केही छैन ।।
दुईबर्ष अगाडिको कुरा हो, भाईटिका आउन केही दिन मात्र बाँकी थियो । मेरो भने महिनावारी हुने समय आएको थियो । हाम्रो चारवटा भाइहरु थिए । म र एलिसाले चार भाईहरुलाई टीका लगाई दिन्थ्यौँ । मैले नियमित जसो औषधि सेवन गरेकाले साह्रै पीडा भएर महिनावारी रोक्ने औषधि भने सेवन गर्न छोडेकी थिए । टिकाको अघिल्लो दिन महिनावारी भएँ । मलाई नमज्जा लाग्यो । बर्ष दिनमा आउने चाडमा पनि मैले मेरा भाईहरूलाई टीका लगाउन पाईन । धन्न एलिसा थिई र भाईहरूको निधार खाली भएन । उनीहरूले टीका लगाएको हेरेरै चित्त बुझाए । मैले त्यो समयमा परिवारलाई कन्भिन्स गर्न नखोजेको पनि हैन तर घरमा आमाबुबा हुनुहुन्थ्यो उहाँहरूले मान्ने कुरा नै थिएन ।
म एक रेडियोकर्मी पनि हो । रेडियोमा काम गर्दै गर्दा बालबालिकाको हकहितको क्षेत्रमा पनि कलम चलाईरहेकी छु । बालिकाहरूको क्षेत्रमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम भईरहँदा म पनि सहभागी हुने गरेकी छु । मैले धेरै कुराहरू सिकेर घरमा पनि विस्तारै परिवर्तन गराईरहेकी छु । समय अनुसार हरेक कुराहरू परिवर्तन पनि भईरहेका छन् । यसमा मलाई खुशी लागेको छ । हिजोका दिनहरुमा महिनावरी हुँदा ममीले एकथान कपडा दिएर भुईमा सुत्ने हामी, आज हामी बेडमा नै सुत्न पाएका छौँ । सामाजिक संजाल, टिभी, रेडियोमा महिनावारीको समयमा घरबाट टाढा लुकाउँदा मृत्युु भएका खबर, बलात्कृत भएको, जनावरले आक्रमण गरेको जस्ता धेरै घटनाहरू सुन्दा, आँफै रेडियोकर्मी भएर समाचार पढ्दा धेरै दुःख लाग्छ । ग्रामीण क्षेत्रमा कति किशोरीहरूले महिनावारीको समयमा अकालमै ज्यान गुमाउनु परेको छ ।
अहिलेको अभिभावकहरूले छोरी महिनावारी हुने समय आउन भन्दा पहिले नै महिनावारीका विषयमा ज्ञान दिन थालेका छन् । महिनावारीमा छोरीलाई घरबाट पर लगेर लुकाउन भन्दा पनि कसरी सफा रहने, यो समयमा आफ्नो शरिरको ख्याल कसरी गर्ने तर्फ ध्यान दिने गरेको पाईन्छ ।
अहिलेका किशोरीहरू १०, १२ बर्षमै महिनावारी हुन्छन् । सायद पौष्टिक आहार, खानपानका कारणले पनि हुन सक्छ । मैले अहिलेको समयमा किशोरीहरू महिनावारी हुँदा उनीहरूलाई परिवारले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार, छोरीहरूले कतिको खुलेर कुरा गर्छन् जस्ता विषयमा संचारकर्मी दिदी रन्जना लम्सालसँग कुरा गरेकी थिए । उहाँकी छोरी १० बर्षकै उमेरमा महिनावारी भएकी रहिछन् । उहाँले यति सकारात्मक कुरा गर्नुभयो कि मलाई साँच्चिकै उहाँबाट सबैजनाले सिक्नुपर्छ जस्तो लाग्छ । उहाँले महिनावारीको समयमा महिलालाई फरक ठाँउ र फरक ओछ्यान होइन मायालु भाव, साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । यो मात्रै नभई उहाँले महिनावारीको समयमा महिलालाई कम्तिमा पनि चारदेखि ६ दिनसम्म अरु दिन भन्दा थप पौष्टिक खानेकुराको आवश्यकता, सरसफाई र आरामको जरूरत पर्ने बताउनुभयो । उहाँले पनि आफ्नो छोरीलाई त्यो समय अन्त लगेर लुकाउनु भएन आफ्नै घरमा आफूसँगै राखेर उसलाई अरू समय भन्दा अझै धेरै माया र समय दिएको बताउनुभयो ।
परिवर्तन आँफैबाट शुरु हुन्छ । एक कदम आँफू बढाउने कोशिस गरौँ बाँकी कदम अघि पछिकाले पक्कै बढाउनेछन् । म पनि यही चाहान्छु कि महिनावारीमा महिलाले खुलेर कुरा गरून, आफ्ना हरेक समस्याहरूलाई खुलेर साथी, दिदी र परिवारसँग गरून् । महिनावारी हुँदा बजारसम्म गएर प्याड ल्याउन नसक्ने अवस्थामा आफ्नो दाजुभाई, बाबा अथवा केटा साथीहरूलाई प्याड लिन पठाउन सक्ने क्षमता होस । महिनावारी भनेको प्राकृतिक प्रक्रिया हो । यसलाई हामी सबैले सामान्य रूपमा लिने गरौँ ।।।।