देवचुली,
हरेक दुःखमा जनताले सरकार भएको महशुस गर्न पाउनुपर्ने गण्डकी प्रदेशका माननीय पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंडेलले बताउनुभएको छ । बुधबार देवचुली उद्योग वाणिज्य संघद्धारा आयोजित बधाई तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका मन्त्री कंडेलले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री कंडेलले भन्नुभयो– “गण्डकी प्रदेशमा ७२ हजार ५ सय ४५ उद्योग व्यवसाय दर्ता रहेकोमा सरकारलाई राजस्व बुझाउने हकमा कास्की पछि नवलपुर दोस्रो ठूलो जिल्ला रहेकाले जनताले सोही अनुसार सेवा सुविधा पाउनुपर्छ” ।
नवलपुरको लोकाहामा बन्ने भनिएको औधोगिक क्षेत्रलाई आगाडी बढाउन जिल्लाका माननीय, मेयर, उपमेयर र सरोकारवालाहरुसँग जिल्ला सदरमुकाम कावासोतीमा छलफल गरिने बताउँदै मन्त्री कंडेलले यसै आर्थिक बर्ष भित्र लोकाहा औधोगिक क्षेत्रको सामुदायिक वन तथा अन्य क्षेत्रसँग भएको समस्या हल गरिने बताउनुभयो । उद्योगी व्यवसायीलार्इं खोप लगाउने सवालमा उपेक्षा गरिएको सन्दर्भमा बोल्दै गण्डकी प्रदेश सरकारले कास्की जिल्लाका लागि १२ हजार र अन्य जिल्लाका लागि १५/१५ सयका दरले खोप छुट्टाई लगाइसकिएको बताउनुभयो । उहाँले हिमाली जिल्ला मनाङ्ग र मुस्ताङका १८ बर्ष माथिका सबैले खोप लगाइसकेको बताउँदै उद्योगी व्यवसायीहरुका लागि प्रदेश सरकारले विशेष खोपको व्यवस्था गर्न लागेको बताउनुभयो । कंडेलले आँफू प्रदेशको उद्योग मन्त्री भएपछिको पहिलो निर्णय उद्योगी व्यवसायीहरुलाई एक करोडको राहत प्याकेज ल्याएको समेत बताउनुभयो ।
बधाई तथा स्वागत कार्यक्रमको अध्यक्षता देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सापकोटाले कोभिड–१९ को खोप लगाउँदा व्यवसायीलाई उपेक्षा गरिएकोमा गुनासो व्यक्त गर्दै सबैलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन समेत कार्यक्रमका प्रमुख अतिथीसँग अनुरोध गर्नुभएको थियो । सापकोटाले प्रदेश सरकारले दलदले, डेढगाउँ भिमाद पोखराको राजमार्गलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिदै त्रिवेणी भन्सारलाई औपचारिकतामा मात्र सिमित गर्न नहुने बताउँदै मन्त्री कंडेललाई आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैगरि कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नवलपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्य विष्णु लामिछानेले नवलपुर जिल्ला कालीगण्डकी र नारायणीले घेरिएको सुन्दर जिल्ला भएकाले यसको विकास र समृद्धिको प्रचुर सम्भावना रहेको बताउँदै जिल्लाका सांसदहरुले नवलपुरलाई नमूना जिल्ला बनाउन लागिपरेको बताउनुभएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् प्रदेश सभा सदस्य ओमकला गौतमले जिल्लाको विकासका लागि सबैभन्दा बढी झगडा गर्ने सांसद आँफू रहेको बताउँदै मञ्चमा भाषण गरेर भन्दा फिल्डमा रिजल्ट देखाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो । गौतमले गण्डकी प्रदेशका मुख्यमन्त्री नवलपुर जिल्ला कै भएकाले नवलपुर जिल्लाको विकासमा टेवा पुग्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अमृत भट्टचनले व्यवसायीलाई कोरोना खोपको सुनिश्चितता गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै नवलपुर जिल्ला भारतसँग सिमा जोडिएको प्रदेशको एकमात्र जिल्ला भएकाले नवलपुर जिल्लाको विकासका लागि प्रदेश सरकार थप जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तै कार्यक्रममा बिशेष अतिथीका रुपमा रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ बुटबल सडकखण्डमा खाल्डाखुल्डी धेरै भएकाले सर्वसाधरणले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले यसलाई छिटो भन्दा छिटो मर्मत गर्न पहलकदमी गरिदिन मन्त्री कंडेललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले गण्डकी प्रदेशका माननीय पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंडेललाई माग पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको समापन देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुसालले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघका महासचिव सुर्य प्रसाद दवाडीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी लगायतका उपस्थिती रहेको थियो ।