कोरियाको रोजगारी अन्योलमै रहेपनि पूर्वतयारीका लागि सरकारले कोरिया जाने श्रमिकलाई पठाउन एयरलाइन्सको छनोट प्रक्रिया थालेको छ । कोरिया सरकारले महामारीका बीचमा श्रमिक आपूर्तिको प्रक्रिया सुरु गरेमा सिधा उडानबाट मात्रै पठाउनुपर्ने शर्त राखेको छ ।
त्यसैअनुसार सिधा उडानमा सस्तो दरमा श्रमिकलाई कोरिया पुर्याएर फर्किन सक्ने एयरलाइन्स कम्पनी छनोट गर्न प्रस्ताव आह्वान गरिएको वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ ।
शाखाका निर्देशक इन्द्र गौतमका अनुसार संसदीय समिति र सरकारले श्रमिक पठाउनका लागि सबै तयारी सक्न निर्देशन दिएकाले कोरियाका न्युनतम् शर्तहरु पूरा गर्न लागिएको हो ।
विभागले यसअघि कोभिड बिमाका कम्पनीहरु छनोट गरिसकेको छ । कोरिया जाने श्रमिकको ५ हजार डलरसम्मको कोभिड बिमा गर्न लागि शाखाले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनीलाई छनोट गरिसकेको छ ।
अब एयरलाइन्स पनि छानेर राख्ने र कोरियाले आवश्यक अनुमति दिनासाथ भाषा परीक्षा पास गरेर भिसा प्रक्रिया पूरा गरेका श्रमिकहरुलाई पठाउन सुरु गर्ने गौतम बताउँछन् । तर, कहिलेबाट कोरियाले नेपाली श्रमिक पुनः लैजान सुरु गर्छ भन्ने टुंगो लागेको छैन ।
‘कोरियाले जुनसुकै समयममा श्रमिक लैजान सुरु गर्न सक्छ, त्यसैले अब यहाँ श्रमिक जाने अवस्थामा पूरा गर्नुपर्ने प्रक्रियाका लागि अवस्था सहज बनाउँदै छौं,’ गौतम भन्छन् ।
भाषा परीक्षा उत्तीर्ण भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले समाजिक सञ्जाल ट्वीटरमार्फत् सरकारलाई ध्यानाकर्षण गराउने अभियान चलाउँदै आएका छन् ।