देवचुली,
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ मा रहेको देवचुली स्वास्थ्य चौकीमा “बर्थिङ सेन्टर” उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । देवचुली नगरपालिकाको करिब ४ लाख आर्थिक सहयोगमा देवचुली स्वास्थ्य चौकीमा निःशुल्क “बर्थिङ सेन्टर” उद्घाटन गरिएको हो । शुक्रबार देखि नै तालिम प्राप्त स्वास्थ्यकर्मीहरुबाट २४ सैं घण्टा सेवा प्रदान सुरु गरिएको छ ।
विशेष गरि देवचुली नगरपालिकाको वडा नं ६, ७, ८ र ९ (साविक देवचुली गाविस) का सुत्केरी महिलाहरुलाई सुरक्षित निःशुल्क सेवा प्रदान गर्ने उद्धेश्यका साथ देवचुली स्वास्थ्य चौकीमा “बर्थिङ्ग सेन्टर” सुचारु गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सेवा लिन आउँदा प्रति सुत्केरी महिलालाई यातायात खर्च १ हजार ५ सय र यस स्वास्थ्य चौकीमा सुत्केरी भए बापत १ हजार नेपाल सरकारले उपलब्ध गराउने साथै ३ पटक समय–समयमा चेकजाँच गर्न आउँदा थप यातायात खर्च ८ सय व्यवस्था गर्ने बताउनुभएको छ । यसैगरि सुत्केरी भएपछि बच्चा र आमाका लागि न्यानो झोला निःशुल्क उपलब्ध गराउने भएको छ । अहिले देवचुली स्वास्थ्य चौकीमा तीन जना नर्स, २ जना कार्यालय सहयोगी कार्यरत रहेका छन् । थप सुत्केरी महिला बढदै गए त्यसलाई व्यवस्थापन गर्दै लैजाने बताइएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख आतिथ्यता गर्नुभएका श्रेष्ठले बिशेषगरि देवचुली नगरपालिकाको पहाडी भेगमा रहेका सुत्केरी महिलाले अब स्वास्थ्य ्संस्थाको अभावमा ज्यान गुमाउन नपर्ने बताउँदै सुत्केरी महिलालाई नियमित चेकजाँच गर्न समेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा नं ७ का वडाध्यक्ष भूपराज पाठकले अब यस क्षेत्रका सुत्केरी महिलाहरुलाई देवचुली स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा आएपछि लाभान्वित हुने बताउनुभएको थियो । सुत्केरी महिलाहरु अटो, मोटरसाईकल, गाडी जस्ता सवारी साधनमा जोखिम मोलेर दुम्कौली अस्पताल, भरतपुर अस्पताल सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, वडा नं ६ का वडाध्यक्ष मिन बहादुर सोती, वडा न. ९ का वडाध्यक्ष मेख बहादुर सारु, दुम्कौली अस्पतालका प्रमुख चित्र बहादुर सुनार, वडा सदस्य, स्वास्थ्य स्वयंमसेविका लगायतको उपस्थिती रहेको थियो ।