एकाएक सबै पाँच वर्षमुनिका बालबालिकामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । जिल्लामा विगत चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा डरलाग्दो सङ्क्रमण पहिलोपटक देखिएको कार्यालय प्रमुख डा जोशीको भनाइ छ ।
भर्ना भएकामध्ये ३० जना निको भएर घर फर्किएका छन् भने छ जनाको अझै उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएकामध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको अस्पतालका कार्यालय प्रमुख डा जोशीले बताउनुहभयो । उपचारका लागि भर्ना भएकामध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वासप्रश्वास र पखालाको सङ्क्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सिजनको सहारामा उपचार गर्नुपरेको छ ।
मौसमी सङ्क्रमण हो वा भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको कोभिड–१९ सूचना अधिकारी चूडामणि पन्तले बताउनुभयो । कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टिजेन जाँच गर्दा नेगेटिभ देखाए पनि ज्वरोको सङ्क्रमण मात्र हो भन्ने अवस्था नरहेको अस्पतालका कोभिड–१९ सूचना अधिकारी पन्तले बताउनुभयो । स्वास्थ्यकर्मीले कोरोनाको तेस्रो लहर हुनसक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।
पाँच वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको सङ्क्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकाले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले जनाएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । (रासस)