देवचुली,
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १३ मा कोभिड १९ प्रकरण अनुसन्धान तथा खोज निरीक्षण सम्बन्धी टोल समिति गठन गरिएको छ । देवचुली वडा नं १३ र सुआहारा कार्यक्रमको सहयोगमा मंगलबार देवचुली वडा नं १३ को वडा कार्यालयमा एक अभिमुखीकरण कार्यक्रम गरि वडा भित्र रहेका ७ वटा टोल सुधार समितिबाट ४ समिति गठन गरिएको हो । ४ वटा समितिमा एक संयोजक र चार सदस्य गरि पाँच जनाको समिति गठन गरिएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) संक्रमणको पहिचानका लागि उक्त कार्यक्रम १४ दिनसम्म संचालन गरिनेछ । जसमा कोभिड १९ प्रकरण अनुसन्धान तथा खोजका लागि समिति गठन गरिएका सदस्यहरुले वडा भित्र रहेका प्रत्येक घरमा अवलोकन गरि कोभिड नियन्त्रण रोकथामका विषयमा जानकारी गराउने, कोभिडका लक्षण देखा परेको खण्डमा समय–समयमा बेसार पानी खाने, बाफ लिने जस्ता धेरै घरेलु उपचार बारे जानकारी गराउने, स्वास्थ्यमा केही समस्या हुनासाथ नजिकैको अस्पतालमा सम्पर्क गर्ने जस्ता विषयमा (सुआहारा) बेस नेपाल र पालिका स्तरीय पोषण सहजकर्ता सरस्वती घिमिरे र (सि.ई.एफ) सामुदायिक सहजकर्ता पवित्रा चापागाईले अभिमुखीकरण गर्नुभएको थियो । समिति गठन गरिएका ४ टोलीले कोभिड पोजेटिभ भएका व्यक्तिलाई १४ दिनमा ३ चोटी भेट्नु पर्ने हुन्छ ।
आफ्नो टोलका व्यक्तिहरुलाई नगरपालिका भित्र रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा हप्ताको दुई दिन अर्थात आइतबार र बिहिबार निशुल्क एन्टिजेन परिक्षणका बारेमा जानकारी दिने, यसैगरि मध्यविन्दु जिल्ला अस्पतालमा प्रत्येक दिन पि.सि.आर परिक्षण हुने बारे जानकारी दिने जस्ता विभिन्न विषयमा जानकारी गराउनुपर्ने छ । यस्तै १४ दिनसम्म आँफूले गरेको कार्य विवरणको फारम, अभिलेख र प्रतिवेदन बनाई आफ्नो टोलीको संयोजक मार्फत वडा कार्यालयलाई बुझाउनुपर्ने छ । यस कार्यका लागि शिवप्रसाद अधिकारी, मोहन पौडेल, लक्ष्मी तिवारी र अग्नि प्रसाद चापागाईंहरुलाई संयोजक तोकिएको छ ।
उक्त कार्यक्रममा देवचुली वडा नं १३ का वडाध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको अध्यक्षता रहेको थियो । उहाँले यसरी समिति गठन गरि कार्यक्रम गर्दा वडा भित्रका संक्रमितको पहिचान हुने बताउनुभएको थियो । कार्यक्रममा कार्यापालिका सदस्य सुभाेचन्द्र सुवेदी, वडा सदस्य ओम नारायण महतो, लालीमाया सुनार, जग बहादुर बोटे लगायतको उपस्थिती रहेको थियो ।