प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको पाँच दिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको मैत्रीपूर्ण निमन्त्रणमा उहाँ विहान साँढे ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, सांसदहरू उच्च अधिकारी सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार सोही क्रममा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा वैशाख ३० गतेदेखि जेठ १ गतेसम्म तीन दिनको कम्बोडियाको औपचारिक भ्रमण गर्नुृहुने छ ।
भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भियतनामी समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने छ भने उहाँले त्यहाँको नेसनल एसेम्लीको अध्यक्षसँग पनि भेट गर्नुहुने छ ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीच केही सम्झौता हुनुका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउन समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
यसैगरी कम्बोडिया भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोम्बोडियाली समकक्षी हुन सेनसँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै कम्बोडियाली प्रधानमन्त्रीले आयोजना गरिने रात्रीभोजमा सरिक हुनु हुने कार्यक्रम रहेको छ ।
यसैविच त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा सेवा प्रभावित भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
‘प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि साढे ११ बजे सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द भएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका लागि प्रस्थान गर्नुभएको हो ।