देवचुली,
गण्डकी प्रदेशको पहिलो प्राथमिकता आम नागरिकको जिवन रक्षा रहेको र त्यसपछि मात्र विकास निर्माण रहने गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोख्रेलले बताउनुभएको छ । शनिबार देवचुली उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै पोख्रेलले गण्डकी प्रदेशका आम नागरिको स्वास्थ्यको चिन्ता गर्दै खोपलाई प्राथमिकता दिने बताउनु भयो ।
उहाँले भन्नुभयो राष्ट्रिय राजनीतिको उतारचढावले गर्दा प्रदेशमा गठबन्धनको सरकार बन्यो, त्यसपछि छोटो समयमा बजेट ल्याउन पर्ने बाध्यता आयो । यो सँगै करिब ३० अर्बको बजेट ल्याउँदै गर्दा ११ अर्ब भन्दा बढि रकम अघिल्लो सरकारले बहुबर्षीय ठेक्कामा लगाउँदाको कारणले त्यसको भार समेत अहिलेको सरकारले लिन परेको हुनाले सोचे अनुरुपको बजेट ल्याउन नसकिएको जिकिर गर्दै छोटो समयमा आएको बजेटले जनमुखि धेरै काम गर्नुपर्ने बाध्यत्मक परिस्थिती समेत बनेको बताउनुभयो । यसबिचमा सरकारले महिलाको पाठेघरको क्यान्सरको निशुल्क उपचार, कोभिडका कारणले अभिभावक गुमाएका बालबालिकाहरुलाई प्रति महिना ५/५ हजार, कोभिडबाट प्रभावित भएका परिवारलाई ५० हजार सम्मको राहत दिने व्यवस्था गरिसकेको मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । यो सरकारको पहिलो प्राथमिकता नै खोप रहेकोले केन्द्रिय सरकारसँग समन्वय गरेर अन्य प्रदेशले भन्दा पहिले गण्डकी प्रदेशले यहाँका नागरिकहरुलाई खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा ११ जिल्ला मध्ये मनाङ र मुस्ताङलाई पुर्ण खोप घोषणा गरिसकेकोले चाडै नै अन्य जिल्लामा खोपको कार्यक्रमलाई तीव्रता दिइने मुख्यमन्त्री पोख्रेलले बताउनुभयो ।
स्वागत मन्तव्य राख्दै देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले देशभर फैलिरहेको तेस्रो लहरको कोरोना भाईरसले स्वतस्फूर्त रुपमा व्यवसाय संचालन गर्न नसकेको हुनाले सम्पूर्ण व्यवसायीहरुलाई १ प्यान कार्ड १ खोपको अवधारणा यथाशिघ्र लागु गर्न अनुरोध गर्नुभएको थियो । यो सँगै सापकोटाले नवलपुर क्षेत्रकै पुरानो पहिलो पहाडी बाटो दलदले धौवादी सडकखण्डलाई २ लेनको बनाउने योजनालाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथीका रुपमा रहनुभएकी नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतक,गण्डकी प्रदेश सभा सदस्य माननीय ओमकला गौतमले उद्योग वाणिज्य संघका पदाधिकारीहरुले राख्नुभएको मागलाई सम्बोधन गर्ने र काँग्रेसको नेतृत्वमा भएको गठबन्धनको सरकारलाई पनि सहयोग गर्न पनि आँफू तत्पर रहेको बताउनुभयो । मुख्यमन्त्री ज्युको गृह जिल्ला समेत रहेकोले नवलपुरबासिहरुको अपेक्षा स्वत बढी रहने हुनाले नवलपुरको विकासमा आफ्नो सक्दो सहयोग रहने बताउनु भयो ।
कार्यक्रममा बोल्दै देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्मराज बस्यालले महामारीमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को समयमा कर तिर्ने मारमा परेका व्यवसायीहरुलाई कर मिनाहा गर्ने वातावरण बनाउन मुख्यमन्त्री समक्ष आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माणका लागि नगरपालिकाले आवश्यक जग्गाको व्यवस्था गर्ने भएकाले ट्रमा सेन्टर ब्यबस्थापनमा सहयोग गर्न अपिल गर्नु भयो साथै श्रेष्ठले नगरभित्र रहेका चारवटा खहरे खोलामा व्यवस्थीत तटबन्धन निर्माण गर्नको लागि प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।