देवचुली,
पुर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ५ अन्तर्गत पर्ने बन्दिपुर गाउँ हुँदै किर्तीपुर पुग्ने सडकखण्डमा पहिरो जाँदा बन्दिपुरका बासिन्दालाई सास्ती बेहोर्नु परेको छ । प्रत्येक बर्ष बर्षायाममा बन्दिपुरका बासिन्दाहरुले यस्तै समस्या भोग्दै आइरहेका छन् ।
बन्दिपुरका बासिन्दालाई बाटो अबरुद्ध भएपछि स्वास्थ्य चेकजाँच गर्न, खाद्यान्न खरिद गर्न, गाउँमा उत्पादन भएका तरकारी, फलफूल बजारसम्म निर्यात गर्न समेत समस्या परेको छ । पहिरो हटाउनका लागि देवचुली नगरपालिकामा समेत पहल गरिएको तर नगरपालिकाको जेसिबीले पहिरो हटाउन नसकेपछि लामो समय देखि बाटो ठप्प रहेको देवचुली नगरपालिका वडा नं ५ का वडाध्यक्ष शिबलाल सापकोटाले जानकारी दिनुभयो ।
सापकोटाका अनुसार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठसँग समन्वय गरेर कावासोती पूर्वाधार शाखासँग कुरा गर्दा उनीहरुले छिट्टै नै ठेकेदार पठाएर पहिरो हटाउछौँ भने पनि अहिलेसम्म पहिरो नहटाएको बताउनुभएको छ ।
यस्तो गम्भीर कुरामा पनि पूर्वाधार विकास शाखाले वास्ता नगरेको वडाध्यक्ष सापकोटाले गुनासो गर्नुभयो । भुइँकटहरको पकेट क्षेत्र समेत रहेको देवचुली नगरपालिकाको बन्दिपुरमा यतिबेला भुइँकटहर पाकेर पाखाभरि राताम्य भएको छ । तर पहिरोका कारण पाकेर रातै भएका भुँंइकटहर बिक्री गर्न लैजान नपाएपछी पाखामै कुहिएर जान थालेको देवचुली ५ का वडा सदस्य पम बहादुर मगरले बताउनुभयो ।
त्यहाँका बासिन्दाले जोखिम मोलेरै भए पनि भुइँकटहर डोकोमा बोकेर बजारसम्म लैजाने गरेको बताउँदै सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । कोरोनाको कहरमा गाउँमा कोही बिरामी भईहाल्यो भने पनि अस्पताल जान सक्ने अवस्था समेत नरहेको स्थानीय बताउँछन् ।
गाउँमा उत्पादन भएका भुइँकटहर मात्र नभई फर्सी, तामा र अन्य फलफूल तरकारी पनि त्यतिकै नष्ट भएर जान थालेपछी स्थानीय निराश भएका छन् । अहिले बन्दिपुर जाने बाटोका ठाउँ-ठाउँमा पहिरो गएको छ ।