चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका ग्राहकहरुले इन्टरनेट मार्फत नै पानीको महशुल तिर्न पाउने भएका छन् ।
इ–सेवा मोबाईल एप्लीकेशन मार्फत ग्राहकहरुले घरमै बसेर पानीको महशुल तिर्न सक्नेछन् । यसले ग्राहकहरुको समयको सदुपयोगसंग पैसाको बचत समेत हुनेछ । भरतपुर खानेपानी व्यवस्थापन बोर्ड र इ–सेवाबीच सम्झौता भएपछि वैशाख १५ गतेदेखि नै ग्राहकहरुले यो सेवा मार्फत बिल भुक्तानी गर्न पाएका छन् । यस सेवाले ग्राहकहरुलाई धेरै सहज हुने खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले बताए । उनले भने–“भरतपुरलाई स्मार्ट सिटी बनाउने तयारी भईरहँदा हामी पनि डिजिटलाईज भएका छौं, यसले ग्राहकहलाई धेरै नै सहज हुनेमा विश्वस्त छौं ।”
भरतपुरमा हाल वडा नं. १ देखि १६ सम्मका २७ हजार ग्राहक रहेका छन् । इ–सेवासंगको सहकार्यले खानेपानीको महशुल कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने झन्झट हटेको छ । ग्राहक धेरै हुँदा तीनचार घण्टा लाइनमा बसी महशुल भुक्तानी गर्नुपर्ने ग्राहकहरू बाध्यता थियो ।
पछिल्लो समय भरतपुर खानेपानी व्यवस्थापन बोर्डले कार्यालयलाई डिजिटलाईज गर्दै लगिरहेको छ । कार्यालयले दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको छ । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती, जिन्सी व्यवस्थापन देखि मिटर रिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्छ ।
इ–सेवाका कार्यकारी प्रमुख रोशन लामिछानेले भरतपुर खानेपानी व्यवस्थापन वोर्डसँग सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै आममानिसलाई सहज सेवाका लागि इ–सेवा संचालनमा आएको भन्दै यसले यहाँका ग्राहकहरुलाई पनि सहज हुनेमा विश्वास व्यक्त गरे । उनले भरतपुर खानेपानी व्यवस्थापन वोर्डका ग्राहकको सहजताको लागि विभन्न स्थानमा इसेवा काउन्टर समेत उपलब्ध हुने बताए ।
यसअघि चितवनको रत्ननगर, पर्सा, वीरेन्द्रनगर, पिप्ले जुटपानी खानेपानीले पनि इ–सेवासंग सहकार्य गर्दै अनलाईन मार्फत खानेपानीको बिल भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । इ–सेवा मार्फत हाल ६० वटा खानेपानी संस्थाले अनलाइनबाट महशुल तिर्न सकिने सुविधा उपभोक्तालाई दिइसकेका छन् ।
भरतपुरमा २०३३ सालदेखि पाईप मार्फत खानेपानी वितरणको सुरुवात भएको थियो । हाल ३३ वटा डिप बोरिङ मार्फत खानेपानी वितरण भईरहेको छ ।