पूर्वी नवलपरासीमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ढिलाई हुँदा बीमितले सेवाबाट बञ्चित भएको गुनासो गरेका छन् ।
बीमामा आबद्ध बीमितले गत जेठ एक गतेदेखि सेवा पाउनुपर्ने भएपनि श्रावण ३ गतेसम्म पनि सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा पाएका छैनन् । जिल्लामा गत वर्षको फागुन एक गते देखि दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा गरिएको थियो । जिल्लामा फागुन र चैत मसान्त सम्म स्वास्थ्य बीमा गराएकाहरुले जेठ एक गतेदेखि सेवा पाउनुपर्ने हो । तर, जिल्लामा बीमामा आबद्ध स्वास्थ्य संस्थाबाट अझै पनि सेवा पाउन नसकेको कावासोती ६ का मणी न्यौपानेले बताउनुभयो । जिल्ला अस्पताल मध्यविन्दुमा स्वास्थ्य सेवा लिन जादा औषधी फार्मेसीबाट किन्नुपरेको उहाँले बताउनुभयो ।
जिल्लाका बीमितले सेवा प्रदायक संस्थामा औषधी लगायत अन्य सेवा सुविधा नपाएउँदा काम गर्न सप्ठेरो परेको भन्दै जिल्लाका बीमा दर्ता सहयोगीहरुले प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।
सेवा प्रदायक संस्थाले तत्कालै सेवा सुविधा प्रदान गर्न आवश्यक निर्देशन दिन आग्रह गर्दै दर्ता सहयोगीहरुले ध्यानार्कषण पत्र बुझाएका हुन् । जेठ महिनादेखि सेवा प्रदायक संस्थाबाट बीमितले पाउनुपर्ने सुविधा नपाएपछि बीमितहरु गुनासो लिएर दर्ता सहयोगी समक्ष आउने गरेकाले दर्ता सहयोगी समेत समस्यामा परेको कावासोतीकी स्वास्थ्य बीमा दर्ता सहयोगी सुजना कंडेलले बताउनुभयो । अस्पतालबाट पाउनुपर्ने सेवा सुविधा बीमितले नपाएपछि दर्ता सहयोगीहरु बीमाको निम्ति घरदैलो कार्यक्रमलाई निरन्तरता दिन समेत गाह्रो परेको उहाँले बताउनुभयो । बीमितले सेवासुबिधा नपाएपछि आफुहरु समेत मर्कामा परेको मध्यबिन्दु १२ का दर्ता सहयोगी सुशिलकमार तामाङ्गले बताउनुभयो ।
जेठ र असार महिनामा बीमितले अस्पतालबाट लिएको सेवा सुविधाको रकम माग गर्दा बीमा बोर्डले रकम नपठाएको ,अस्पतालमा दक्ष जनशक्ति अभाव, आवश्यक पुर्वाधार विकासको काम प्रकृयामा रहेकाले बीमितले पाउनुपर्ने औषधी लगायत सेवासुविधामा ढिलाई भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुबेदीले बताउनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.बीर बहादुर थापाले बीमा बोर्ड र अस्पतालकाबीच भएको समस्या हल गरी समन्वयात्मक भुमिकाको माध्यमबाट बीमितलाई आवश्यक सेवा सुविधा प्रदान गर्ने गरी अगाडि बढ्ने बताउनुभयो । साउनदेखि औषधी उपलब्ध गराउने लक्ष्य लिएता पनि अस्पतालमा कोभिडका बिरामीको बढ्दो संख्या,कर्मचारी अभाव ,औषधी खरिदका निम्ति टेण्डर प्रकृयामा जानुपर्ने लगायतका समस्याले गर्दा बीमितले पाउनुपर्ने सेवा सुविधा केही समय ढिलो भएका थापाले बताउनुभयो । त्यस्तै उहाँले अस्पतालमा देखिएका समस्या हल गरी साउन १० गतेदेखि बीमितलाई आवश्यक औषधी उपलब्ध गराउने बताउनुभयो।
जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट, , बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैंडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको लागि छनोट गरिएको छ ।