गैंडाको ‘जिरो पोचिङ’ मनाइरहँदा गत बर्ष भदौ २१ गते चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले मारेको अवस्थामा गैंडा भेटियो ।
त्यसपछि पनि लगातारजसो थप तीन गैंडा निकुञ्जभित्रै तस्करहरुले मारे । २०७३ चैत २५ गते निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाटमा भाले गैंडा मारेयता गैंडा मार्ने क्रम रोकिएको थियो ।
तर, त्यस घटनाको ४१ महिनापछि चार गैंडा मारिएपछि निकुञ्ज प्रशासनको सुरक्षा फितलो भएको भन्दै आलोचनासमेत भयो । तर, निकुञ्जले तस्करहरुको खोजी गर्न छाडेन । आक्रामक रुपमा तस्करहरूको खोजीलाई तीव्र पारेको निकुञ्जले यो बीचमा पुराना फरार र नयाँ गरेर २७ जना गैंडा मारेको र खाग बेचेको आरोपमा पक्राउ गर्यो ।
पक्राउ गरेर अदालतमा पेश गरिएका अभियुक्तहरु धमाधम धरौटीमा छुट्न थालेका छन् । अहिलेसम्म अदालतको आदेशमा ११ जना गैंडा मार्ने र तस्करी गर्ने अभियुक्त छुटेको निकुञ्जले जनाएको छ । निकै दुःख गरेर खोजी गरी प्रमाणसहित पक्राउ परेका तस्करहरु एकपछि अर्को धरौटीमा रिहा भएपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यसले संरक्षणकर्मीहरूको मनोबल गिराउने र तस्करहरूको मनोबल बढाउने काम गरेको टिप्पणी गरे । गैंडाको संरक्षणमा यसले चुनौती थप्दै लैजाने उनको धारणा छ । चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्नू आदेश दिएका तीन अभियुक्तलाई उच्च अदालत हेटौडाले जनही पाँच लाख धरौटीमा छाडेको छ ।
चितवन जिल्ला अदालतले ११ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तीमध्ये ३ जना उच्च अदातलबाट धरौटीमा रिहा भएका छन् । जिल्ला कारागार भरतपुरमा ९ जना पुर्पक्षका लागि थुनामा छन् ।
गैंडा तस्करीको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका नविन पौडेल भनिने मेखबहादुर नेपाली, कैलाशबाबु आले मगर र सोमबहादुर गुरुङले उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए ।
उनीहरूले प्रहरी अनुसन्धानका क्रममा आफूहरू गैंडाको खाग लुटपाट र बिक्रीमा संलग्न भएको वयान दिएका भए पनि अदालतमा त्यसलाई इन्कार गरेको भन्दै न्यायाधीशद्वय राजकुमार वन र हरिप्रताप केसीको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीहरू गत माघमा समातिएका हुन् । निकुञ्जले गत आर्थिक बर्ष मात्रै गैंडा मारेको, खाग किनबेच गरेको तथा विभिन्न रुपमा सहयोग गरेको आरोपमा २७ जनालाई पक्राउ गरेको थियो ।
तीमध्ये ३ जना पुराना घटनाका फरार अभियुक्त हुन् । पक्राउ परेका २७ मध्ये चितवनमा १७ जना विरुद्ध मुद्दा चलेको थियो । चितवन जिल्ला अदालतले २०७७ फागुन २५ गते नांगे तामाङ, योन्देन तामाङ र कवि भनिने रामकुमार श्रेष्ठलाई पाँच लाख धरौटीमा छाड्न आदेश दियो । त्यस्तै, २०७८ वैशाख १० गते ज्वाला भनिने ज्ञानबहादुर रुम्बा र सुदीप गिरीलाई साधारण तारेखमा छाड्ने आदेश दियो ।
चितवन जिल्ला अदालतले ११ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तीमध्ये ३ जना उच्च अदातलबाट धरौटीमा रिहा भएका छन् । जिल्ला कारागार भरतपुरमा ९ जना पुर्पक्षका लागि थुनामा छन् ।
यस्तै, नवलपुरमा १० जना पक्राउ परेकामा २ जना अदातलको आदेशमा धरौटीमा छुटेका छन् । ८ जना पुर्पक्षका लागि थुनामा छन् । बाँदरझुला आइल्यान्ड क्षेत्रमा शिकारीले गत १७ भदौमा २५ देखि ३० वर्षको भाले गैंडालाई गोली हानी मारेका थिए । टाउकामा गोली लागेको अवस्थामा २१ भदौमा भेटिएको गैंडाको खाग र खुर सुरक्षित थियो।
निकुञ्जका अनुसार, नारायणी नदीको टापु मर्दी घोलमा १९ कात्तिकमा गैंडाको माउ र बच्चा मृत भेटिएका थिए । २०–२२ वर्षको पोथी गैंडा र तीन वर्षको बच्चा तस्करहरुले गोली हानेर मरेका थिए। शिकारीले खाग पनि लगिसकेका थिए । ती दुई गैंडा करीब दुई महीनाअघि भदौतिर नै मारिएको निकुञ्जले जनाएको छ । त्यसको पाँच सय मिटर पर दुईवटा भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने गोली पनि भेटिएको थियो ।
यस्तै, तस्करले मारेको अवस्थामा गत २१ कात्तिकमा गैंडाको खागविहीन कंकाल भेटियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिक भेटिएको गैंडा करीब ६ महिनाअघि मारिएको निकुञ्जको भनाइ छ ।
निकुञ्जले यो सिलसिलेवार घटनाका अभियुक्तहरूलाई पक्राउ गरेर उनीहरुको सञ्जाललाई छिनाउने काम गरेको भए पनि अभियुक्तहरु छुट्दा फेरी संगठित भएर गैंडा मार्न सक्ने भएकोले सर्तक रहेको जनाएको छ ।
अनलाइनखबरबाट