देवचुली,
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।
देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थामा भेरोसेल खोप लगाउन सुरु गरिएको हो ।
देवचुलीको प्रगतिनगर स्वास्थ्य चौकीमा भने भेरोसेल खोप लगाउनेको भिड बढेको छ ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप लगाउने भनिएपनि यहाँ व्यवस्था फितलो भएको खोप लगाउन आउनेले बताएका छन् ।
खोप लगाउन आएका व्यक्तिहरुले जनप्रतिनिधिहरुको पनि उपस्थिती नहुँदा व्यवस्थापनमा समस्या आएको बताएका छन् ।
यता देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले खोपको मात्रा थोरै आएको र खोप लगाउने व्यक्ति धेरै हुँदा व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ । देवचुलीमा यस पटक जम्मा २ हजार ६ सयलाई मात्र खोप दिने भएको छ ।
देवचुली नगरपालिकामा (आज) शुक्रबार र (भोली) शनिबार खोप लगाईदैछ । देवचुली नगरपालिकाका ५५ बर्ष भन्दा माथिका विद्यालयका शिक्षकशिक्षिका, कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, खानेपानी, विद्युत र टेलिकमका कर्मचारी, नगरभित्रका अत्यावश्यक सेवाका कर्मचारीहरु, पहिलो मात्रा भेरोसेल खोप लगाउन थालिएको हो ।