भानुको नाउँमा पुष्प, सम्मानले चढाउँछु
श्रद्धाको यादले मनमा, खुसीयाली म छाउँछु ।
उत्थान भयो भाषाको, राष्ट्रिय व्यवहार को
छरेर ज्ञानको ज्योती, जियौ जीवन सारको
उदायौ घाम झुल्कोमा, रमायौ जन प्यारमा
मिलायौ महिला टन्टा, अर्ती र उपदेशमा ।
ठूला–साना गरी धेरै, कविता मर्म बाहक
रामायण महाकाव्य रामका गाथ गायक ।
जगायौ भाइ–भातृत्व, रमायौ युद्ध पर्वमा
पाएर आदि सम्मान बाँचिराख न स्वर्गमा ।
थियौ आशुकवि भानु, जेलमै कविता भयो
उड्यो इज्जत डिट्ठाको, विचरी नतमस्त भो ।
बिहानी पखका हाम्रा, शुक्रतारा भनी–भनी
लगाएर पदको हार, महान कविले पनि ।
भाषाको ममतालाई, उनेर एक सूत्रमा
विभूति राष्ट्रका एक गनिएर सुपात्रमा ।
भानु नाम भनी भानु, भनेझैँ तेजिला भयौ
हाम्रो वाङ्मय आकाश, उज्यालो पारदै गयौ ।
कृष्ण देवि शर्मा
देवचुली