चिवतनको एक सामुदायिक वनमा फेला परेको सुजिता भण्डारीको शवको पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेको छैन।
प्रारम्भिक रिपोर्टअनुसार भण्डारीको हत्या वा आत्महत्या प्रमाणित गर्ने कुनै चिह्न फेला नपरेको पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका डाक्टर गोपाल चौधरीले बताए।
‘शव चिरफार गरेर हेर्दा बाहिरी-भित्री कुनै चोटपटक छैन,’ डा. चौधरीले मंगलबार भने, 'चोटपटक नदेखिएपछि हत्या नै हो भनेर भन्न सकिँदैन। आत्महत्या हो कि भनेर शंका पनि गरेका थियौं तर त्यसलाई साबित गर्ने प्रमाण अहिलेसम्म भेटेका छैनौं।'
उनका अनुसार आत्महत्याका लागि घाँटी कस्सिएको हुनुपर्छ, जसको चिह्न पोस्टमार्टममा देखिएको छैन। 'विष सेवन गरेको पनि हुन सक्छ तर अहिले त्यसको निर्क्यौल गर्न सकिएन,' उनले भने।
भण्डारीको शवनजिकै सिसाको बोतलमा पतेरो मार्न प्रयोग गर्ने विष भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भण्डारीको बलात्कार भएको हुनसक्ने शंका पनि पोस्टमार्टमको प्रारम्भिक रिपोर्टबाट पुष्टि नभएको उनले बताए। ‘उहाँको योनीमा बलात्कार भएको कुनै संकेत देखिँदैन,’ चौधरीले भने।
हत्या वा आत्महत्या दुवै पुष्टि नभएपछि भिसेरा (मुटु, कलेजो र फोक्सो) परीक्षण गर्न नमूना संकलन गरिएको उनले बताए। ‘त्यो नमूना हामीले प्रहरीलाई दिएका छौं, उहाँहरूले कहाँ परीक्षण गर्नुहुन्छ त्यो म भन्न सक्दिनँ,’ चौधरीले भने, 'भिसेरा रिपोर्ट आएपछि भण्डारीको मृत्युको कारण प्रस्ट हुन्छ।'
त्रिवि शिक्षण अस्पतालले भण्डारीको शव पोस्टमार्टम गर्न तीन सदस्यीय टोली गठन गरेको थियो। टोलीमा डा. चौधरीसहित डा. मणिराज महर्जन र डा. युजिन डोल्मा छन्।
डा. चौधरीका अनुसार भण्डारीको देब्रे हात, देब्रे खुट्टा र दाहिने खुट्टामा घाउहरू देखिएका छन्। डिप्रेसनको औषधि खाइरहेका व्यक्तिमा त्यस्ता घाउ देखिनसक्ने हुँदा त्यही आधारमा कुनै निर्क्यौलमा पुग्न नसकिने उनले बताए।
'हातखुट्टामा देखिएको घाउ मृत्युको कारण होइन,' उनले भने, 'यसको पनि यकिन कुरा भिसेरा रिपोर्टबाट थाहा हुनेछ।'
पोस्टमार्टम रिपोर्टबाट भण्डारीको पाठेघर 'खाली देखिएको' जानकारी पनि उनले दिए।
चिवतन राप्ती नगरपालिका-३ की भण्डारी असार ११ गतेदेखि हराइरहेकी थिइन्। उनको शव राप्ती नगरपालिका-३ को ब्रह्मस्थली सामुदायिक वनमा आइतबार साँझ फेला परेको थियो। निगुरो र च्याउ टिप्न गएका स्थानीयले भण्डारीको शव देखेका थिए। नचिनिने खालले सडेको शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
भण्डारीको घरबाट ३० मिनेट गाडी चढेपछि ३० मिटरजति पैदल हिँडेर शव भेटिएको जंगल पुगिन्छ।
खबर पाएपछि आइतबार नै प्रहरी टोली घटनास्थल पुगेको थियो। सोमबार मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यालय चितवनको टोली राजमार्गसम्म आइपुगेको थियो। तर स्थानीयले अवरोध गरी प्रहरी टोलीलाई राजमार्गमै छेके। प्रहरीले घटनाको सत्य-तथ्य सार्वजनिक गर्ने सर्तमा स्थानीयलाई सहमतिमा ल्याएर शव परीक्षण गर्न काठमाडौं पठाउने निर्णय गर्यो। भण्डारीको शव मंगलबार बिहान ११ बजे शिक्षण अस्पताल ल्याइएको थियो।
प्रहरीले सुजिताको शव भेटिएको स्थानबाट करिब ५० मिटर तल उनको मोबाइल सेट फेला पारेको छ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले शव प्राप्त भएको स्थानमा मंगलबार खोजी गर्दा सिमकार्ड नभएको मोबाइल सेट फेला परेको बताए।
‘भिरको खोल्सोमा शव भेटिएको थियो, त्यो खोल्सोबाट तल-तल माटो, ढुंगा, गिट्टी पन्छाउँदै खोजी गर्दा पुरिन लागेको अवस्थामा मोबाइल भेटियो,’ उनले भने, ‘यसले पनि हामीलाई अनुसन्धानमा सघाउने छ।’
एसपी अधिकारीले सुजिताले आफू अपहरणमा परेको जानकारी परिवारका सदस्यलाई गराएको कुरा मिडियामा आएको र आफूहरूलाई पनि जानकारी गराएको भए पनि अहिलेसम्म पुष्टि हुन नसकेको बताए।
‘अपहरण नै रहेछ भने पनि त्यो सामान्य रूपमा देखिने खालको अपहरण नहुन सक्छ तर हामीले अहिलेसम्म उनले परिवारका सदस्यलाई अपहरणबारे जानकारी गराएको ठोस प्रमाण पाएका छैनौं,’ उनले भने, ‘अनुसन्धान चलिरहेकाले कुरा के हो अहिल्यै भन्न सकिन्नँ।’
असार ११ गते बिहानै घरबाट निस्किएकी सुजिताले दिउँसो दिदी कवितालाई आफू अपहरणमा परेकाले बचाउन आग्रह गरेको परिवारका सदस्यहरूले बताउँदै आएका छन्।
भण्डारीको शव भेटिएपछि स्थानीयले राजमार्गमा अवरोध गरेर शवलाई पोस्टमार्टममा लैजान दिएका थिएनन्।
सोमबार ८ घन्टाभन्दा लामो अवरोधपछि प्रहरीले शवलाई काठमाडौं पठाएको थियो। मंगलबार पनि स्थानीयले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन गरेका थिए।
प्रदर्शनले उग्र रूप लिने देखेपछि जिल्ला प्रशासनले राप्ती नगरपालिकाको लोथरपुलदेखि डडुवासम्मको राजमार्ग क्षेत्रमा २४ घन्टाका लागि लामो दुरीका यातायातका साधन मात्रै चल्ने गरी ‘कर्फ्यू’ आदेश जारी गरेको छ।
सेतोपाटीबाट