देवचुली,
पुर्वी नवलपरासीको देवचुली नगरपालिकाले बिहिबार आठौँ नगरसभा सम्पन्न गरेको छ । आठौँ नगर सभाले आर्थिक बर्ष २०७८/०७९ का लागि कुल ६२ करोड २७ लाख ७८ हजारको बार्षिक बजेट पारित गरेको छ । जसमध्ये २७ करोड ९८ लाख संघीय सरकारको सशर्त अनुदान, १४ करोड ४२ लाख वित्तिय समानीकरण अनुदान, ६९ लाख समपुरक अनुदान, ८३ लाख बिशेष अनुदान र ९ करोड ११ लाख १२ हजार राजस्व बाँडफाँडबाट प्राप्त हुनेछ ।
यसैगरि गण्डकी प्रदेशको वित्तिय समानीकरण अनुदानबाट १ करोड ७२ लाख ५२ हजार र राजस्व बाँडफाँडबाट १ करोड ६ हजार साथै देवचुली नगरपालिकाको आन्तरिक आयबाट २ करोड ५० लाख माल्पोत रजिस्टे्रशनबाट २ करोड ६० लाख र चालु आर्थिक बर्षको बैंक मौज्दातबाट १ करोड ४२ लाख ८ हजार प्राप्त हुनेछ । देवचुली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालु खर्चमा ३४ करोड ७३ लाख ७८ हजार ३ सय २० रुपैँया (५५.७८%) र पुँजीगत खर्चमा २७ करोड ५३ लाख ९९ हजार ६ सय ४० रुपैंया (४४.२२%) विनियोजन गरेको छ ।
देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बजेट प्रस्तुत गर्दै सामाजिक विकासमा १२.८७%, आर्थिक विकासमा ५.४९%, पूर्वाधारमा ४१.७५%, वन, वातावरण तथा विपदमा ६.४७% र संस्थागत तथा सुशासन तर्फ ३३.४२% बजेट विनियोजन गरेको बताउनुभयो । कोरोना भाइरसको महामारी यथावत रहेको सन्दर्भमा महामारी नियन्त्रणका लागि औषधि तथा उपकरण खरिद, आइसोलेसन निर्माण लगायत अन्य विपद कार्यका लागि विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख विनियोजन गरिएको छ ।
आठौँ नगर सभामा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले आर्थिक बर्ष २०७७/०७८ कार्य प्रगति विवरण र आर्थिक बर्ष २०७८/०७९ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगर सभामा नगर सभा सदस्यहरुले विभिन्न विषयमा नगर प्रमुख र उप–प्रमुखसँग प्रश्न गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन, स्वास्थ्यबिमा, खेलकुद, पर्यटन, सामुदायिक वन, अनुगमन र वडामा समानुपातिक बजेट विनियोजन जस्ता विषयमा सवाल गरेका थिए ।
आठौँ नगरसभाको सञ्चालन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले गर्नुभएको थियो ।