देवचुली,
“कोभिडमा राहत, सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाऔँ सहयोगी हात” भन्ने नाराका साथ नेपालका विभिन्न क्षेत्रमा कोभिड रोकथामका लागि सहयोग हस्तान्तरण गरिएको छ । कोभिड नियन्त्रणका लागि देवचुली नगरपालिकालाई आइतबार हेफर इनटरनेशनल नेपालको सहयोगमा हिकोडेफ नवलपरासी र सकलादेवि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड केउरेनीको सहकार्यमा ४ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने हेफर इनटरनेशनलका प्रबन्धक अनन्त सिलवालको प्रमुख आतिथ्तयता रहेको थियो । कार्यक्रममा बोल्दै हेफर इनटरनेशनलका प्रबन्धक सिलवालले दोस्रो भेरियन्टले नेपाललाई आक्रान्त बनाइरहेकाले यस दुःखको घडीमा सहयोग गर्नुपर्ने भन्दै विभिन्न जिल्लाका पालिकाहरुलाई संस्थाले सहयोग गर्दै आइरहेको बताउँदै देवचुली नगरपालिकालाई पनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सिलवालले स्वास्थ्य सामाग्री भन्दा रकम सहयोग गर्दा नगरपालिकालाई विपदमा आवश्यक सामाग्री खरिद गर्न सहज हुने बताउँदै रकम सहयोग गरिएको बताउनुभएको ।
हेफर इनटरनेशनल नेपाल, हिकोडेफ नवलपरासी र सकलादेवि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड केउरेनीको सहयकार्यमा विपदको समयमा देवचुली नगरपालिकालाई सहयोग गरेकोमा नगरप्रमुख श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । श्रेष्ठले रकमलाई पारादर्शी ढंगले कार्यनयन गर्ने बताउँदै आगामी दिनमा संस्थाहरुसँग हातेमालो गरि अगाडि बढ्न नगरपालिका ईच्छुक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठ, देवचुली वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्साल, हिकोडेफका कार्यकारी निर्देशक कृष्ण प्रसाद घिमिरे, सकलादेवि सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रिरा वाग्ले लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठलाई ४ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण हिकोडेफका कार्यक्रम संयोजक विष्णु प्रसाद कंडेलले गर्नुभएको थियो । यसैगरि संस्थाले (आज) आइतबार मात्रै नवलपुरका ४ पालिका देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र बुलिङ्गटार गाउँपालिकामा १८ लाखको सहयोग हस्तान्तरण गरेको छ ।