मङ्गलवारदेखिको निरन्तर परेको वर्षाका कारण आएको बाढी पहिरोबाट ६ जनाको ज्यान गएको छ। २७ जना बेपत्ता भएका छन्।
बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ। बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक/एक जना गरी जम्मा छ जनाको ज्यान गएको छ। त्यस्तै बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एक/एक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन्।
यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ। बाढी, पहिरो र डुबानको जोखिम हुने नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ।
उज्यालो अनलाईनबाट