फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।
समूह 'बी' को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ। समूह 'बी' कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।
१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५-५ खेल खेल्दा समान १०-१० अंक जोडेका छन्।
नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।
खेलको जानकारी
खेल : नेपाल भर्सेस चाइनिज ताइपेई
प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)
स्थान : कुवेत सिटी, कुवेत
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन
फिफा वरीयता : ताइपेई (१४१), नेपाल (१७१)
हेड टु हेड
खेल : २
नेपाल : १ जित, १ बराबरी
ताइपेई : १ हार, १ बराबरी
के भन्छन् प्रशिक्षक?
अब्दुल्लाह अलमुताइरी (नेपाल)
कुवेतको मौसममा खेल्न सजिलो छैन। त्यसैले दुवै टिमका लागि गाह्रो हुनेछ।
हामी समूहमा चौथो स्थान पक्का गर्दै एएफसी एसियन कप छनोटमा अवसर पाउन चाहान्छौ। त्यसका लागि हामी जितको लागि खेल्छौं।
छनोटको तयारी गर्न धेरै मैत्रीपूर्ण खेल खेलेका छैनौ। हामीसँग प्रतिभाशाली युवा खेलाडीले भरिएको टिम छ। त्यसैले हामीले खेलाडीहरूलाई अघि बढ्न साथ दिनुपर्छ।
भोम काहुम (ताइपेई)
कुवेतको मौसममा भिज्न गाह्रो भइरहेको छ। हाम्रो मुख्य चुनौती नै यहाँको मौसम भइरहेको छ।
हाम्रा मुख्य खेलाडी र विदेशमा खेलिरहेका खेलाडी कोभिडको कारण टिममा छैनन्। नयाँ खेलाडीले आफूलाई प्रमाणित गर्ने आसा गरेको छु।
नेपाली टिम
गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट
पछिल्ला खेलको नतिजा
ताइपेई
कोरोना भाइरसको संक्रमण सुरू भएपछि ताइपेईले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन।
त्यसअघि ताइपेईले विश्वकप छनोटमा खेलेका पाँचै खेलमा हार बेहोरेको थियो।
छनोटमा ताइपेई जोर्डनसँग २-१, नेपालसँग २-०, अस्ट्रेलियासँग ७-१, कुवेतसँग ९-० र जोर्डनसँग दोस्रो खेलमा ५-० ले पराजित भएको थियो।
पछिल्ला पाँच खेलमा उसले २५ गोल खाँदा २ गोल गर्न सकेको छ।
त्यसअघि ११ जुन २०१९ मा हङकङसँग खेलेको मैत्रीपूर्ण खेलमा भने उसले २-० को जित हात पारेको थियो।
नेपाल
नेपालले कोरोना भाइरसपछि ६ खेल खेलिसकेको छ। जसमध्ये तीन खेलमा बराबरी, दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ।
यो अविधमा नेपालले बंगलादेशसँग ४ पटक प्रतिस्पर्धा गरेको छ। जसमा दुई खेल बराबरीमा सकिएका छन्। एक खेलमा हार बेहोर्दा नेपालले एक खेलमा जित हात पारेको छ।
यस्तै नेपालले कीर्गिस्तानको यु२३ टिमसँग पनि प्रतिस्पर्धा गर्यो। थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा भएको सो खेलमा नेपाल गोलरहित बराबरीमा रोकियो।
गत साता नेपालले पूर्वएसियन च्याम्पियन इराकविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो। जसमा नेपाल ६-२ गोलले पराजित भयो।
नेपालले कोरोनापछि खेलेका ६ खेलमा ९ गोल खाँदा ४ गोल गरेको छ। ६ मध्ये नेपालले चार खेलमा गोल गर्न सकेको छैन।
कोरोनाअघि नेपाली टिम विश्वकप छनोटमा खेलेका पाँच मध्ये चार खेलमा पराजित भयो।
नेपालले विश्वकप छनोटमा कुवेतसँग १-० र ७-० को हार बेहोर्दा अस्ट्रेलियासँग ५-० र जोर्डनसँग ३-० गोलले पराजित भयो।
ताइपेईलाई २-० ले पराजित गरेको नेपालले म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै ३-० को हार बेहोर्यो। कोरोनाअघि खेलेका पछिल्ला ६ खेलमा नेपालले १९ गोल खायो भने केवल २ गोल गर्न सक्यो।
सेतोपाटी