विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत जनताको हातमा प्रतिफल पुर्याउन दत्तचित्त भएको बताएका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउने परिभाषा हानिकारक भएको पनि बताएका छन् ।
शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित १४ औं गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले भनेका छन्, ‘गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु हाम्रो कर्तव्य हो र, हामी यस कर्तव्य पालनामा इमान्दारी रनिष्ठासाथ क्रियाशील रहेका छौं ।’
‘सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हो। हाम्रा सम्पूर्ण साधनस्रोत तथा प्रयासहरू ती आकांक्षालाई मूर्त रूप दिन नै केन्द्रित छन् । हामीसँग जनताका प्रतिनिधिले बनाएको संविधान छ। संविधानमा जनताको अधिकार एवं सर्वोत्तम हित र आकांक्षाहरू प्रतिविम्बित छन् । तिनको व्यावहारिक कार्यान्वयन मार्फत जनताको हातमा प्रतिफल पुर्याउन हामी दत्तचित्त छौं,’ ओलीले भनेका छन् ।
जनता बाहेक कुनै पनि तागतले कसैलाई सत्ताको केन्द्रमा पुर्याउने र कसैलाई सत्ताबाट खसाल्ने परिभाषा र अभ्यासलाई लोकतान्त्रिक गणतन्त्रले आत्मसात गर्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा होमिन आह्वानसमेत गरेका छन् ।
‘हाम्रो गणतन्त्रले प्रणालीका छिद्रहरु खोजेर कसैलाई सत्तामा चढाउने र कसैलाई झार्ने खेलमा समय व्यतीत गर्ने होइन,’ उनले भनेका छन्, ‘राजनीतिक झगडा/लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर जनताको अभिमतलाई सर्वोपरि मान्दै अग्रसर रहन म सबैलाई आग्रह गर्न चाहन्छु । चुनाव हुँदैन भन्ने प्रचार र चुनाव निश्पक्ष हुँदैन भन्ने प्रचार दुवै निराधार रहेको पनि उनले बताएका छन् ।
अनलाइनखबर