गैंडाकोट । गैंडाकोटको विकट पहाडी गाउँ हर्दीमा बत्ती बलेको छ । स्थानीय सरकार आएको २ वर्षमै गैंडाकोट नगरपालिका वडा नंं. ३ मा रहेको विकट क्षेत्रका रुपमा परिचित हर्दी गाउँमा बत्ती बलेसंँगै स्थानीयहरु निकै खुसी भएका छन् । गैंडाकोट नगरपालिकाका नगर–प्रमुख छत्रराज पौडेलले हर्दी गाउँमा बिजुली बत्ती बालेर विद्युत सेवाको उद्घाटन गर्नुभएको हो ।
नगरप्रमुख छत्रराज पौडेलले मिटरबक्सको स्वीच अन गरेपछि हर्दीमा पहिलोपटक बिजुली बलेको हो । गैंडाकोट जस्तो सुगम नगरपालिकाको एक अङ्गको रुपमा रहेको हर्दीमा बिजुली बलेसंँगै स्थानीयबासी अत्यन्तै खुसी भएका छन् । हर्दीका स्थानीय सोम भुजेलले गाउँमा पहिलोपटक बिजुली बलेपछि दङ्ग पर्नुभयो । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आउनुभएका भुजेलले बत्ती बाल्न पाएपछि हर्षित हुँदै वर्षौदेखि गर्दै आएको गुनासो सम्बोधन भएको बताउनुभयो ।
गैडाकोट नगरपालिका र हर्दीको दूरी खासै टाढा नभए पनि बिजुली पुगेको थिएन् । हामीले जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा बिजुली बल्लुपर्छ भन्ने माग राख्यौं, उहाँले भन्नुभयो’, ढिलै भएपनि बिजुली बाल्न पाँउदा खुसी छौं ।’ उहाँले जनप्रतिनिधि र स्थानीयको दौडधुप र मेहनतले बिजुली बल्न सम्भव भएको पनि बताउनुभयो । पहिले मट्टितेल र सोलारको मधुरो उज्यालो हुन्थ्यो,’ उहाँले भन्नुभयो’ अहिले खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज हुने भयो । ’बिजुली बलेपछि हर्दीका ६७ घरधुरी उज्यालोमा बस्न पाउने भएका छन् ।
अर्का स्थानीय प्रेमबहादुर गुरुङले आफ्नो गाउँमा बत्ती बलेकोमा खुसी व्यक्त गर्दै ढिलै भएपनि आफ्नो गाउँमा बत्ती बलेकोमा आफू उत्साहित भएको बताउनुभयो । उहाँले हर्दीमा विद्युतीकरण गरिदिएकोमा स्थानीय सरकारलाई धन्यवाद दिनुभयो । २०४१ सालपछि तनहुँ जिल्लाबाट बसाइँ सराइ गरी हर्दी गाउँ बस्नुभएका उहाँले अब गाउँमा सहज यातायातको लागि बाटो निर्माण संँगै सिंचाइमा समेत ध्यान दिन स्थानीय सरकार प्रमुखको ध्यानाकर्षण गर्नुभएको छ । समृद्धि खबरसँंगको कुराकानीमा उहाँले अहिले गाउँमा निर्वाहमुखी खानेपानीको व्यवस्था रहेपनि वडाको विकासका निमित्त सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्नुभयो ।
यस्तै गरी वडाबासी वद्रीप्रसाद रिमालले हर्दी गाउँलाई सधँै पछाडि पारिएको भएपनि स्थानीय क्षेत्रका जनप्रतिनिधि चयन भएपछि मात्रै यहाँ बत्ती बलेको बताउनुभयो । उहाँले यसअघि यस क्षेत्रमा ठूला मान्छेले डेढ दशकसम्म नेतृत्व गर्दासमेत अँध्यारोमा रहेको सन्र्दभमा अहिले स्थानीय सरकार आएको २ वर्षमै गाउँ उज्यालो बनेकोमा सुखी हुँदै नगरप्रमुख र वडाअध्यक्षप्रति आभार प्रकट गर्नुभयो । नगरप्रमुख र वडा अध्यक्षले सहजीकरण गरेकाले पनि छिट्टै सफल भएको बताउनुभयो । ६ महिना भित्रै हुनसक्ने काम २ वर्षमा भएको बताउँदै उहाँले इच्छाशक्ति हुँदा विकास सम्भव हुने रहेछ भन्ने उदाहरणका रुपमा लिँदै खुसी व्यक्त गर्नुभयो । सुरुमा १९ घरमा मिटर बक्स जडान गरेर बिजुली बालिएको छ भने १५ दिनभित्र अन्य घरधुरीमा पनि बिजुली बाल्ने तयारी गरिएको छ । नेपाल विद्युत प्राधिकरणको करिब ३५ लाख र नगरपालिकाको विद्युतीय सामग्री ढुवानीलगायतको सहयोगमा विधुतीकरण सम्पन्न गरिएको हो । देवघाटदेखि हर्दीको ट्रान्सफर्मरसम्म ३० वटा पोल प्रयोग भएका छन् भने घरघरमा बत्ती पु¥याउन ४० वटा पोल प्रयोग गरिएको छ ।
सो अवसरमा गैडाकोटका ग्रामीण क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत हर्दीमा विजुली बालिएको नगर–प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले निर्वाचनका बेला जनतासँंग गरेको बाचा पूरा गर्न सफल भएकोमा गर्व लागेको पनि बताउनुभयो । निर्वाचित भएको छ महिनादेखि विद्युत ल्याउन प्रयास गरेको भन्दै अहिले सफल भएको बताउनुभयो । उहाँले गैंडाकोटलाई नै उज्यालो पार्ने अभियानमा रहेको पनि प्रतिक्रिया दिनुभयो ।
नगरप्रमुख पौडेलले केही छिटपुट घरबाहेक सबै घरमा यो आर्थिक वर्षभित्रै विजुली पु¥याउने प्रतिबद्धता जनाउनुभयो । वडा नम्बर ३ मा नै सात करोडको खानेपानी बिस्तार गर्न लागिएको बताउनुभयो । उहाँले कालिगण्डकीबाट लिफ्टको माध्यमबाट स्थानीयलाई सिंचाइको सुविधा प्रदान गरिने योजना रहेको बताउनुभयो । विद्युत बलेसंँगै हर्दी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनको लागि अगाडि बढ्ने जनाउनुभयो । उहाँले भन्नुभयो’,यहाँ होमस्टे निर्माण गर्न नगरपालिकाले सहयोग गर्छ ।’ उहाँले नागरिकलाई उत्पादनमूलक काममा लाग्न आग्रह गर्दै नगरपालिकाको लगानीको लागि चिन्ता नगर्न विश्वास दिलाउनुभयो । त्यसै गरी गैडाकोट नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले लामो समयको प्रयासपछि गाउँमा विद्युत बाल्न सफल भएको बताउनुभयो । उहाँले विद्युतीकरणसँंगै गाउँमा विकासको ढोका खुलेको धारणा राख्नुभयो । विद्युतका लागि डेढ वर्ष निरन्तर लाग्यौं,उहाँले भन्नुभयो’,यसमा स्थानीयको पनि साथ र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । चुनावताका गरेको प्रतिबद्धताअनुसार आफू अगाडि बढिरहेको भन्दै आवश्यकताका आधारमा विकासका कामलाई गति दिने बताउनुभयो ।
हर्दीमा बत्ती बल्दा आफ्नो मन ज्यादै खुसी भएको छ भन्दै अब वडाका अन्य स्थानमा पनि विद्युतीकरण गर्दै जाने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरण गैडाकोट शाखाका प्रमुख सुजन रिजालले हर्दीमा विद्युतीकरणका लागि प्राधिकरणसंँगै स्थानीयले पनि श्रमदान गरेको बताउनुभयो । सिंचाइ प्रयोजनका लागि बोरिङ्ग र कालिगण्डकीबाट लिफ्ट सिंचाई ल्याउनसमेत सकिने गरी ५० केभिएको ट्रान्सफर्मर राखिएको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी एवं नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सदस्य धनप्रसाद सापकोटाले स्थानीय सरकारको उपलब्धिका रुपमा हर्दी गाउँमा बत्ती बल्न सफल भएको प्रतिक्रिया दिनुभएको थियो । समृद्धि खबरसँंग कुराकानी गर्दै उहाँले अब मुलुकभित्र समृद्धिको सपना छिट्टै साकार हुने भन्दै सबै पक्षलाई सोहीअनुरुप अघि बढ्न आग्रह गर्नुभयो । सो अवसरमा वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेललगायतको उपस्थिति रहेको थियो ।