कोभिड-१९ को दोश्रो भेरियन्टको महामारी नेपाल लगायत अन्य देशहरुमा फैलिरहँदा यसको रोकथाम र दिवंगतहरुप्रती समवेदना प्रकट गर्न बुधबार पूर्वी नवलपरासीको शाश्वतधाममा "ध्यान" गरिएको छ। २५६५ औं बुद्ध जयन्तीको अवसर पारी स्थानीय ह्याप्पी एफ एमले "प्रे फर हेल्थ" को नारा सहित दीप प्रज्ज्वलन, प्रवचन र ध्यानको आयोजना गरेको हो।
विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मोत्सवको पावन दिनमा कोरोना महामारीको अन्त्य सहित देशमा शान्ती र स्थिरताको कामना गर्दै ह्याप्पी एफ एम, शाश्वतधाम, विश्व हिन्दु युवा संघ, वैदिक सनातन धर्म संरक्षण सेवा समिती तथा देवचुली जेसिजका सिमित पदाधिकारीहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि बुद्ध जयन्ती मनाएका हुन। सो अवसरमा २५ सय ६५ दीप प्रज्जवलन समेत गरिएको थियो। अनौपचारिक सुरु गरिएको कार्यक्रममा बोल्दै ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक दीपेश कडरियाले संस्कृति र संस्कारको जगेर्ना युवा पुस्ताले गर्नुपर्ने औल्याए। सन्कछ्वै धार्केलिङ गुम्बाका प्रमुख मानबहादुर लामाले देशको समृद्धिका लागि असल शासक वा असल धर्मगुरु हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले भगवान गौतम बुद्धले देखाएको बाटोमा हिंडे कहिल्यै मनमा अशान्ती नहुने, मानिस दु:खी नहुने तथा जीवन सार्थक हुने बताउनुभयो। कोभिड कहरकाविच सिमित ब्यक्तीको उपस्थितिमा कार्यक्रम गरे पनि गुम्बा परिसरमा बजिरहेको "ॐ माने पद्मे हुम" को मधुरता र फाट्टफुट्ट परेको पानीका छिटाले कार्यक्रमलाई थप सार्थक बनायो। उपस्थित हरेकले बुद्धको चरणमा स्पर्श गर्दै कोरोना महामारीको अन्त्यको प्रार्थना गरे।
कार्यक्रममा शाश्वतधामका प्रमुख अशोक घर्ती, सिजिआईपीका सिएसआर प्रमुख रामचन्द्र धिताल, विश्व हिन्दु युवा संघ नवलपुरका संयोजक लक्ष्मण रिजाल, वैदिक सनातन धर्म संरक्षण सेवा समिती नवलपुरका संयोजक वसन्त पोखरेल, देवचुली जेसिजका अध्यक्ष निलकण्ठ पोखरेल लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण ह्याप्पी एफ एमका स्टेसन म्यानेजर आदर्श सुशिलले गरेका थिए।