लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु भएर हिजो बिहानदेखि पटकपटक पराकम्पको महसुस गरिएको छ । भूकम्प मापन केन्द्रका अनुसार साना ठूला गरी पछिल्लो २४ घण्टामा ८६ पटक पराकम्पको महसुस गरिएको हो ।
पहिलोपटक बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्नेच्युटको भूकम्प गएयता बिहान बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा मात्रै ८६ पटक पराकम्प महसुस गरिएको राससले उल्लेख गरेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार म्याग्नेच्युटमाथिका ६ वटा र सोभन्दा कम ८२ पटक धक्का महसुस गरिएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रिक्टर स्केललको पराकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बिहिबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । जिल्ला प्रहरी कार्यालयको रिपोर्ट अनुसार अहिलेसम्म भूकम्पका कारण २४१ घरमा क्षति पुगेको छ । जसमा ५० घर पूर्ण रुपमा भत्किएका छन् भने बाँकी घरपनि अहिलेकै अवस्थामा बस्न नमिल्ने अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी गंगा थापाका अनुसार बिहानसम्म पनि निरन्तर आइरहेको भूकम्प र सँगै आएको पानीले जनजीवन प्रभावित बनाएको थापाले जानकारी दिए । पानी कमभएसँगै क्षतिपुगेका परिवारलाई त्रिपाल लगायत उपलब्ध गराउने तयारी रहेको थापाले जानकारी दिए ।
बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लावासीलाई रातिको समयमा समेत पटकपटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न सक्ने अवस्था नै नरहेको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
लमजुङ अहिले भूकम्पको त्रासमा मात्रै छैन । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ । सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भिडभाड नगर्न भनिएको छ ।
यता, भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले सबैजना सुरक्षित, सतर्क र सजग भएर बस्नुपर्ने बताए । उनले यो विपद्को घडीमा सबैलाई एकजुट भएर अघि बढ्न र नआत्तिनलाई आग्रह गरेका छन् ।